तपाईँ सुन्दै हुनुहुन्छः

विधेयकका विषयमा फैलाईएका भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह

काठमाडौँ  । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधि विधेयकका विषयमा फैलाईएका अफवाह र अनावश्यक भ्रमको प्रभावमा नपर्न सबैसँग आग्रह गर्नुभएको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले विधेयकमा भएका प्रावधानको अपव्याख्या गरी जनतामा भ्रम सिर्जना गर्न खोजिएकोे बताउनुभयो ।

मन्त्री बाँस्कोटाले पूर्वाग्रह नराखी विधेयकले व्यवस्था गरेका प्रावधानहरूका बारेमा टिप्पणी गर्न राजनैतिक दलका नेता तथा अन्य सरोकारवालाहरू संग आग्रह समेत गर्नुभयो ।

सामाजिक सञ्चालका प्रत्येक प्रयोगकर्ता दर्ता हुनुपर्ने, कसैलाई होच्याएको जिस्काएको आरोपमा सरकारले जो–कोहीलाई जुनसुकै बेला पक्राउ गर्न सक्ने जस्ता प्रावधान रहेको भनी हल्ला फैलाएर सरकारको बदनाम गर्न खोजेको मन्त्री बाँस्कोटाले बताउनुभयो ।

उहाँले संसदीय समितिमा छलफल हुँदा प्रतिपक्षी दलका साँसदहरूले राखेका विभिन्न ८ वटा सुझावहरू समावेश गरी विधेयकलाई परिमार्जन सहित पारित गरिएको र संविधानले व्यवस्था गरेको अभिव्यक्ति स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने कुनै प्रावधान भए संसदमा छलफल हुँदा त्यसमा संशोधन गर्न सकिने समेत स्पष्ट पार्नुभयो ।

सोही अवसरमा पत्रकारको एक प्रश्नको जवाफमा मन्त्री बाँस्कोटाले उखु उत्पादक किसानका समस्या समाधान गर्नका लागि सरकारले दिएका अनुदान रकम सिधै सम्बन्धित किसानको बैंक खातामा जाने गरी वैकल्पिक व्यवस्था गर्ने तयारी भैरहेको जानकारी दिनुभयो ।

सरकारले दिएको अनुदान समेत चिनी मिलहरू मार्फन नै भुक्तानी दिने व्यवस्था भएका कारण किसानले समयमै भुक्तानी पाउन नसकेको बताउनुहुँदै मन्त्री बाँस्कोटाले सहकारी वा उखु किसानहरूको समुह बनाएर सम्बन्धित किसानको खातामा सिधै अनुदान रकम दिने व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button