तपाईँ सुन्दै हुनुहुन्छः

धनुषा बम विस्फोटका योजनाकार पक्राउ

जनकपुर । धनुषामा एक प्रहरी निरीक्षकसहित तीनजनाको मृत्यु भएको बम विस्फोटका योजनाकार पक्राउ परेका छन् । प्रहरीले मुख्य योजनाकार मानेका आदम राइन पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा बम विस्फोटको करिब तीन सातापछि घटनाको मुख्य योजनाकारको आरोपमा पक्राउ परेका आदम राईन नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको केन्द्रीय सदस्यसमेत रहेको प्रहरीले जनाएको छ । राइनलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

गत मङ्सिर २७ गते राति टाइम बम प्रयोग गरी घटना घटाउने मुख्य योजनाकारसहित नौजनाको पहिचान भइसकेको प्रदेश नं २ का प्रहरी प्रमुख प्रद्मकुमार कार्कीले बताउनुभएको छ । महेन्द्रनगर बजारमा रहेको राजेश साहको घरमा टाइम बम राखेर विस्फोट गराइएको थियो । सो बम विस्फोटनमा परी प्रहरी निरीक्षक अमिरकुमार दाहालसहित घरधनी राजेश साह निजको छोरा आनन्द साह गरी तीनजनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएको थियो ।

सो घटनामा साह बाबुछोराको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते भएका प्रहरी निरीक्षक दाहालको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि तीनजनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा विप्लव समूहका प्रदेश नं २ संयोजक ५१ वर्षीया सीतादेवी महरा, केन्द्रीय सदस्य ४१ वर्षीया ललिता महरा र रामशोभित गाहा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button