तपाईँ सुन्दै हुनुहुन्छः

ब्रेक फेल भएर गाडी घरभित्रै पस्दा एकको मृत्यु

भक्तपुर । भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नम्बर १ दुवाकोटमा गाडी ब्रेक फेल भएर घर भित्र पस्दा एक जनाको मृत्यु भएको छ ।

दुवाकोटको सरस्वतीखेल खड्का टोल सडक खण्ड अन्तर्गत राईटार डाँडामा बा १ ख ९०९० नम्बरको गाडी ब्रेक फेल भएर पछाडी फर्कने क्रममा घरमाथि खस्न पुगेको हो ।

नेपाल ईञ्जिनीयरिङ कलेज ,बेसी हुँदै रत्न पार्क चल्ने गाडी दुर्घटना हुने क्रममा घरमा नै छिर्दा घर भित्र रहेका ४ मध्य १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा भान्सामा खाना बनाउँदै गरेका ३५ बर्षिय घरमुली भिम योञ्जन रहेका छन् । सिन्धुपाल्चोक स्थायी घर भएका योञ्जनका श्रीमती, छोरा र सालो भने सकुसल रहेका छन् ।

बेसी सडक बन्द भएका कारण बैकल्पिक सडकबाट आउने क्रममा राई डाँडाको ठाडो उकालोमा गाडी चढ्न नसक्दा पछाडी फर्केर घरको छानाबाट नै छिरेको कारण घर पूर्ण रुपमा ध्वस्त भएको प्रत्यक्षदर्शीको भनाई छ ।

योञ्जनको परिवार जग्गा भाडामा लिएर जस्ताको टहरा हालेर बस्दै आएका थिए । बैदेशिक रोजगारीको सिलसिलामा रहेका योञ्जन ३ दिन अघिमात्रै नेपाल आएका हुन् । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

बस चालक दोलखा शैलुङेश्वर गाउँपालिका–४ का ३९ वर्षीय वेदबहादुर चौलागाईंलाई राती नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button