२०७८ साल वैशाख ५ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

कालिञ्चोकमा लगातार हिमपात

चिरञ्जीवी मास्के २०७६ पुष २० गते ९:४३

दोलखा । प्रसिद्ध तीर्थस्थल कालिञ्चोकमा शनिवार साँझबाट पुनः हिमपात सुरु भएको छ । शुक्रवार केही समय हिमपात भएको कालिञ्चोक क्षेत्रमा शनिवार साँझबाट लगातार हिमपात भै रहेको स्थानियले बताएका छन् । आज आइतबार पनि कालिञ्चोकमा हिमपात भइरहेको छ ।

हिमपातले चिसो बढाएपनि धार्मिक आस्थासंगै हिउँको आनन्द लिन शनिवार दुई हजार भन्दा बढी पर्यटक कालिञ्चोकको कुरीमा रमाई रहेको स्थानिय सुनपाति होटलका सञ्चालक हरि ओलीले बताउनु भयो । पर्यटकहरु आउने क्रम रातिसम्मै जारी रहेको ओलीले बताउनु भयो । कुरीमा रहेको करिब ५० ओटा होटल सबै भरीभराउ भै सकेको ओलीले बताउनु भयो ।

अत्यधिक हिमपातका कारण सवारी साधनहरु कालिञ्चोकभन्दा केही तल गैरीसम्म मात्र पुग्ने गरेको र गैरीबाट चेनवाला बोलेरोहरुले यात्रुलाई कालिञ्चोक कुरीसम्म लाने गरेको स्थानिय होटल व्यवसायीहरुले बताएका छन् ।

दोलखा सदरमुकाम चरिकोटबाट १७ किलोमीटरको दूरीमा रहेको कालिञ्चोक ३८४२ मीटरको उँचाईमा रहेको छ । हरेक बर्ष पुष देखि चैत्रसम्मै हिमपात हुने कालिञ्चोकमा पर्यटकहरु धार्मिक आस्था र प्राकृतिक सौन्र्दयको लागि पुग्ने गर्छन । काठमाडौँबाट करिब एक सय ४० किलोमीटरको दूरीमा रहेको कालिञ्चोकमा उपत्यकाबाट अत्यधिक पर्यटक पुग्ने गरेको स्थानिय होटल व्यवसायीहरु बताउछन् ।

कालिञ्चोकको मुख्य आकर्षण भनेको टाकुरोमा रहेको कुण्ड हो । अग्लो टाकुरोमा सधै जलयुक्त कुण्ड हुनु कालिञ्चोकको मुख्य विशेषता भएको स्थानिय जेष्ठ नागरिकहरु बताउछन् । कालिञ्चोकमा पुग्ने पर्यटकहरुले आफ्नो मनोकामना पूरा होस् भन्दै घण्टा र त्रिशुल चढाउने गर्दछन् । यो मन्दिरमा एउटा मात्रै वरदान माग्दा पूरा हुने जनविश्वास रहेको छ ।

विगतमा उपत्यका र दोलखा तथा आसपासको जिल्लाबाट मात्र पर्यटक पुग्ने गरेको कालिञ्चोकमा अहिले तराई तथा भारतबाट समेत पर्यटक पुग्ने गरेको सुनपाति होटलका सञ्चालक ओलीको भनाई छ ।

शुक्रवार केहि समय परेर रोकीएको हिमपात शनिवार साँझबाट पुनः सुरु भएपछि अहिले मन्दिर तथा कुरी आसपास दुई फिट भन्दा बढी हिउँ जमेको स्थानिय बताउछन् । कुरीबाट केवलकारको समेत सुविधा रहेकोले पर्यटकलाई मन्दिरसम्म पुग्न भने धेरै समस्या नहुने स्थानिय होटल व्यवसायीहरु बताउछन् ।

सम्बन्धित

छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

१० घन्टा अगाडि रेडियो नेपाल

हावाहुरीले झापामा केरा खेतीमा ठुलो क्षति

११ घन्टा अगाडि रोहित काफ्ले