तपाईँ सुन्दै हुनुहुन्छः

पुनः प्रधानमन्त्री बन्ने सान्चेजको पहललाई स्पेनी संसदद्वारा अस्वीकार  

म्याड्रिड –  स्पेनको संसदमा भएको प्रथम मतदानबाट समाजवादी नेता पेद्रो साञ्चेजको पुनः प्रधानमन्त्री बन्ने चाहानालाई आइतबार अस्वीकार गरिदिएको छ । इद्यपि उहाँले प्रधानमन्त्रीका लागि विश्वासको मत लिने दोस्रो अबसर भने रहेको छ ।

एकै पटकमा विश्वासको मत नआएमा उक्त उम्मेदवारले चाहेमा मतदान भएको अर्को दुई दिनभित्र दोस्रो पटक विश्वासको मत लिनका लागि मतदान हुने स्पेनको संविधानमा व्यवस्था रहेको छ ।

कुल ३५० सदस्य रहेको स्पेनी संसदमा बहुमतका लागि १७६ मत आवश्यक पर्छ । आइतबार संसदमा भएको मतदानमा नेता साञ्चेजले १६६ मत प्राप्त गर्नुभएको थियो भने १६५ मत विपक्षमा  परेको थियो । मतदान प्रक्रियामा १८ जना अनुपस्थित रहे भने एक सदस्यले संसदमा उपस्थित भएर पनि मतदानमा भाग लिएनन् ।

साञ्चेजले संसदमा मङ्गलबार फेरि मतदानको सामना गर्नुहुनेछ । दोस्रो पटकमा भने संसदको मतदानमा उपस्थित सदस्यको सामान्य बहुमत अर्थात् खसेको मतको बहुमत ल्याउन सकेमा उहाँ अर्को कार्यकालका लागि प्रधानमन्त्री बन्नुहुनेछ ।

साञ्चेजले क्याटलोनियाको स्वतन्त्रताका लागि सङ्घर्षरत दल (इआरसी) का १३ सांसद सदस्यलाई मतदानमा सहभागी नगर्ने सहमतिपछि स्पेनको राजनीतिक अङ्कगणितमा साञ्चेजको पक्षमा नेतृत्वका लागि माहोल देखिएको हो । यद्यपि उक्त माहोलका बाबजुद् पनि उहाँलाई यस चरणमा प्रधानमन्त्री बन्ने बाटो भने खुल्न सकेन । मङ्गलबार हुने मतदानमा साञ्चेजले कम्तीमा दुई मत बढी ल्याएमा प्रधानमन्त्री बन्ने पक्कापक्की हुनेछ ।

यूरो क्षेत्रको चौथो ठूलो अर्थतन्त्र स्पेनमा गत वर्ष अप्रिल र नोभेम्बरमा भएका निर्वाचनबाट पनि कुनै दलले सरकार गठनका लागि बहुमत ल्याउन नसकेपछि सरकार गठन प्रक्रिया लम्बिएको हो ।

साञ्चेजको दलले नोभेम्बर १० मा सम्पन्न संसदीय निर्वाचनमा १२० सीट मात्र ल्याउन सफल भएको थियो । यो उक्त दलले अप्रिलमा ल्याएको सदस्य सङ्ख्याभन्दा तीन सदस्य कम हो । अप्रिलमा साञ्चेजको समाजवादी पार्टीले १२३ सीट जितेको थियो । तर सरकार गठनका समय समर्थन दिएको एक समूहले समर्थन फिर्ता लिने निर्णयपछि साञ्चेजले संसदमा बहुमत पुष्टि गर्न नसक्दा नोभेम्बरमा निर्वाचन गर्नुपर्ने बाध्यता भएको थियो ।

साञ्चेजले संसदमा ३५ सदस्य भएको कडा धारको वामपन्थी पार्टी ‘पोडेमस’ सँग सहमति गरेको भएपनि संसदमा उहाँलाई आवश्यक बहुमत पुगेको छैन । आगामी दुई दिनमा उहाँले आफ्नो पक्षमा आइतबार पाएको मतलाई कायम राख्न सके मात्रै पनि उहाँलाई अर्को कार्यकाल प्रधानमन्त्री बन्ने बाटो खुल्नेछ ।

स्पेनी सञ्चारमाध्यमले बताए अनुसार साञ्चेजलाई दोस्रो पटकको मतदानमा साना केही क्षेत्रीय समूह र पहिलो चरणमा अनुपस्थित सांसद सदस्यले समर्थन दिने सम्भावना बढेको छ।

रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button