तपाईँ सुन्दै हुनुहुन्छः

महानगर कप भलिबल : पुरुष र महिलाका सात टोली विजयी   

काठमाडौँ   ललितपुरमा जारी महानगर कप पुरुष तथा महिला भलिबल प्रतियोगितामा पुरुष र महिलातर्फका सात टोली विजयी भएका छन् ।
जावलाखेलस्थित भलिबल प्रशिक्षण केन्द्रमा आज भएको पुरुष भलिबलमा बनेपा नगरपालिकाले कीर्तिपुर नगरपालिकालाई, महालक्ष्मी नगरपालिकाले पनौती नगरपालिकालाई तथा कमलामाई नगरपालिकाले गोकर्णेश्वर नगरपालिकालाई पराजित गर्यो ।

बनेपाले कीर्तिपुरलाई २५–१०, २५–१३ र २५–२१ अङ्कले हरायो । यस्तै महालक्ष्मीले पनौतीलाई २५–१४, २५–२३ र २५–२१ अङ्कले पराजित गर्यो । पुरुषतर्फकै अर्को खेलमा कमलामाईले गोकर्णेश्वरलाई २५–२१, २५–१८ र २५–१९ अङ्कले हरायो । अर्को खेलमा चौतारा नगरपालिकाले ललितपुर महानगरपालिकालाई ३–१ सेटले पराजित ग¥यो । उक्त खेलमा चौतारा २५–२१, १९–२५, २५–१९ र २५–२१ अङ्कले विजयी भएको प्रतियोगिता प्रचारप्रसार उपसमितिकी संयोजक निलम बज्राचार्यले जानकारी दिनुभयो ।

यस्तै महिलातर्फ आज भएको खेलमा गोकर्णेश्वर, हेटौँडा र ललितपुर महानगरपालिका विजयी भएका छन् । गोकर्णेश्वरले विदुर नगरपालिकालाई २५–१७, २५–२१ र २५–१७ अङ्कले हरायो । हेटौँडाले टोखा नगरपालिकालाई २५–१७, २५–२१ र २५–१७ अङ्कले पराजित गर्यो । अर्को खेलमा आयोजक ललितपुर महानगरपालिकाले बनेपा नगरपालिकालई ३–० सोझो सेटमा पराजित गर्यो । ललितपुरले उक्त खेल २५–५, २५–११ र २५–९ अङ्कले हरायो ।

ललितपुर महानगरपालिकाले आफ्नो १०१औँ स्थापना दिवसका अवसरमा प्रदेश नं ३ स्तरीय अन्तर नगरपालिका पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा पुरुषतर्फ १३ तथा महिलातर्फ आठ नगरपालिका सहभागी रहेका संयोजक बज्राचार्यले बताउनुभयो । पुरुष तथा महिला भलिबलका विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख, तेस्रो हुनेले रु ५० हजार तथा चौथो हुनेले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

पुरुष र महिलातर्फ सर्वोकृष्ट हुने खेलाडीलाई रु १० हजार तथा उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button