तपाईँ सुन्दै हुनुहुन्छः

फापर बाली लोपोन्मुख अवस्थामा

काठमाडौं । पाल्पा जिल्लामा फापर बाली लोपोन्मुख अवस्था पुगेको छ । हिमाली तथा पहाडी भेगमा उत्पादन हुने फापर अन्नबाली क्रमश हराउँदै जाँदा पाल्पामा यसको असर परेको हो । व्यावसायिक रूपमा फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा लोपोन्मुख अवस्थामा पुगेको हो ।

उच्च रक्तचाप तथा सुगरका बिरामीले फापरका परिकार चाखलाग्दो रूपमा खान्छन् । यो परिकार सेवन गर्दा मधुमेह, उच्च–रक्तचाप, कब्जियत, मोटोपन घटाउन सहयोग पुग्ने र मानिसको स्मरणशक्ति बढाउन समेत लाभदायक मानिन्छ । नेपालमा हाल तीते र मीठो गरी दुई थरिको फापरको उत्पादन हुँदै आएको छ । पाल्पामा ४२५ हेक्टर क्षेत्रफलमा ३९८ मेट्रिक टन उत्पादन हुने गरेको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख शिव अर्यालले फापरलगायतका रैथाने अन्नबाली उत्पादनमा कमी आएको बताउनुभयो ।

रैनादेवी छहरा गाउँपालिका–५ का जङ्गबहादुर आलेले चार–पाँच वर्षदेखि फापर खेती गर्न छाडेको बताउनुभयो । उत्पादन कम हुने हुँदा फापर खेती गर्न छाडेको र जति मिहिनेत गरे पनि उत्पादन न्यून हुँदा फापर बालीप्रति आकर्षण घटेको किसानहरले बताएका छन् ।

फापरमा ‘बी’ भिटामिन, प्रोटिन, खनिज एन्टी अक्सिडेन्ट पोलिफेनोल र करिब १० देखि १२.५ प्रतिशत प्रोटिन पाइन्छ ।

नेपालमा दश हजार दुई सय ९५ हेक्टरमा फापर खेती हुन्छ । प्रदेश ५मा मात्र एक हजार १०८ हेक्टरमा ९७८ मेट्रिक टन फापर उत्पादन हुदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button