२०७७ साल चैत ३० गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

चितुवाको आक्रमणबाट ज्यान गुमाउनेलाई राहत

रेडियो नेपाल २०७६ पुष २१ गते १३:०८

Related image

तनहुँ। चितुवाको आक्रमणबाट ज्यान गुमाउने तनहुँको भानु नगरपालिकास्थित दुई बालकका परिवारलाई डिभिजन वन कार्यालय तनहुँले राहत उपलब्ध गराएको छ । चितुवाको आक्रमणबाट मृत्यु भएका भानु नगरपालिका–१ जामुनेगैह्राका तीन वर्षीय आशिष बानियाँ र –२ फुस्रेटारका सात वर्षीय ऋतिक रोकाको परिवारलाई वन कार्यालयले जनही रु नौ लाख ५० हजार उपलब्ध गराएको हो ।

कार्यालयले घटनालगत्तै किरिया खर्चबापत रु ५०÷५० हजार पीडित परिवारलाई प्रदान गरेको थियो । बानियाँको गत असोज २१ गते र रोकाको कात्तिक ११ गते चितुवाको आक्रमणबाट मृत्यु भएको थियो ।

नगरपालिकाका प्रमुख उदयराज गौली, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र वन कार्यालयका प्रमुख केदार बरालले राहत रकम आज बानियाँका बुबा विष्णुबहादुर र रोकाका आमा सिर्जनालाई प्रदान गर्नुभयो । नगरपालिकाका प्रमुख गौलीले राहत रकमले पीडित परिवारलाई केही सहयोग पुग्ने बताउनुभयो । डेढ वर्षमा भानुमा मात्रै ६ बालबालिकाको मृत्यु भइसकेकाले अझै पनि सतर्कता अपनाउन आवश्यक रहेको उहाँको भनाइ थियो । “हाल भानुमा चितुवाको आक्रमण रोकिए पनि ढुक्कसँग बस्नसक्ने अवस्था छैन,” गौलीले भन्नुभयो ।

डिभिजन वन प्रमुख बरालले विपद्को अवस्थामा राज्य जनताको साथमा छ भन्ने अनुभूति दिलाउन राहत रकम उपलब्ध गराइएको जानकारी दिनुभयो ।

वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तु क्षतिको राहत निर्देशिका बमोजिम वन्यजन्तुको आक्रमणमा परि मानिसको मृत्यु भएमा अधिकतम रु १० लाखसम्म उपलब्ध गराउने उल्लेख छ । वन कार्यालय तनहुँले भानुमा चितुवाको आक्रमणबाट मृत्यु भएकाका परिवारलाई राहतस्वरुप रु १०÷१० लाख प्रदान गरिसकेको छ ।

त्यस्तै आइतबार साँझ चितुवाको आक्रमणबाट मृत्यु भएका आँबुखैरेनी गाउँपालिका–१ रानागाउँका ८ वर्षीय पुजन सिंजाली मगर र पुस १४ गते चितुवाको आक्रमणबाट मृत्यु भएका शुक्लागण्डकी नगरपालिका–३ रातमाटाका २२ महिनाका रविन नेपालीको परिवारलाई तत्कालै रु ५० हजार राहत उपलब्ध गराइएको सहायक वन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिनुभयो ।

सम्बन्धित

आवश्यक नीतिगत सुधारका लागि सरकार तयारः मन्त्री गुरुङ

२ घन्टा अगाडि सुरेन्द्रमणि त्रिपाठी/केशव ढुङ्गाना