तपाईँ सुन्दै हुनुहुन्छः

पुनःनिर्माणमा ८६ प्रतिशत प्रगति

काठमाडौं । भूकम्पपछिको पुनःनिर्माणमा निजी आवासतर्फ ८६ प्रतिशत प्रगति भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमवारको बैठकमा पुनःनिर्माणमा हालसम्म भएका प्रगतिको विवरण प्रस्तुत गर्नुहुँदै प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चार लाख ८० हजार ८९१ घरको निर्माण सम्पन्न भएको जानकारी दिनुभयो ।

भूकम्पले भत्किएका आठ लाख १६ हजार ४७१ घर पुनःनिर्माण गर्नुपर्नेमा सात लाख ८० हजार १६५ परिवारले अनुदान सम्झौता गरेको उहाँले सुनाउनुभयो । सात लाख ७० हजार २६१ भूकम्पपीडितले पहिलो किस्ताको रु ५० हजार बुझेका छन् । विसं २०७२ माघ २ गते पुनःनिर्माणको शुरुआत गरेको रानीपोखरी आगामी वैशाख १२ गते नै सक्ने गरी काम अघि बढाइएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सांसदहरुलाई बताउनुभयो ।

समिति सभापति दिलकुमारी थापा रावल (पार्वती) ले पुनःनिर्माणको समग्र अवस्था सकारात्मक नै रहेकाले केही कमजोरी भए त्यसलाई सच्याएर अघि बढ्न प्राधिकरणलाई निर्देशन दिनुभयो । सांसद सुरेन्द्रराज पाण्डेले अन्य स्थानको पुनःनिर्माण सकारात्मक देखिए पनि गोरखा दरबारको काम शुरु भएको दुई वर्ष बित्दासमेत अझै भत्काएरै नसकिनुका कारण के हो भनी प्रश्न राख्नुभएको थियो । गोरखाको लाप्राकस्थित गुम्सीपाखामा निर्माण भइरहेको एकीकृत बस्तीमा स्थानीयवासी अझै सर्न नमानेकाले के गर्ने भन्ने विषयमा प्राधिकरणले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

सांसद खिमलाल भट्टराईले विदेशबाट आउने सहयोग, एकीकृत बस्तीमा बस्ने मान्छे भएनन् भन्ने गुनासो आइरहेकोतर्फ प्राधिकरणको चनाखो हुनुपर्ने बताउनुभएको थियो । बैठकमा सांसदहरु धना खतिवडा, कोमल वली, रामचन्द्र राई र रमेशप्रसाद यादवले पुरातात्विक सम्पदा रातो मच्छिन्द्रनाथ काम शुरु भएको चार वर्षभन्दा बढी समय सकिँदा पनि अलपत्र बनेको, स्वास्थ्य संस्थाको पुनःनिर्माणमा पनि हुनुपर्ने जति काम हुन नसकेको बताउनुभएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button