२०७७ साल असार २९ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

कालिञ्चोकको हिमपातमा श्रृङ्खलाको लुकामारी

चिरञ्जीवी मास्के २०७६ पुष २३ गते १५:२५

दोलखा । बुधबार बिहानैदेखि कालिञ्चोकमा हिमपात भइरहेको छ । भुवावाल टोपी भएको खैरो ज्याकेटमा फुसफुसाउदो हिउँसँग लुकामारी गर्दै रमाई रहनु भएको छ नेपाल सुन्दरी श्रृङ्खला खतिवडा ।

यस्तो चिसो मौसममा नेपालमा पहिलो पटक यति उँचाईको हिमपात हुने ठाँउमा आएको छु नेपाल सुन्दरी श्रृङ्खलाले भन्नुभयो – यो मेरो जीवनको अलौकिक आनन्दको क्षण हो । कालिञ्चोकमा जति मानिस रमाई रहेका छन् यहाँको प्राकृतिक सुन्दरता, हिमपात र धार्मिक महत्वका कारण अझै धेरै मानिस आउनु पर्ने ठाँउ रहेछ – श्रृङ्खलाले भन्नुभयो । मंगलबार कालिञ्चोक पुग्नु भएको श्रृङ्खला लगातारको हिमपातको कारण बुधबार दिनभरी नै कालिञ्चोकमा रमाईरहनु भएको छ ।

सन् २०१८ को नेपाल सुन्दरी तथा विश्व सुन्दरी छनौटमा टपटेन भित्र पर्नु भएको श्रृङ्खलाले आफु कालिञ्चोकमा स्की गर्न आतुर रहेको समेत सुनाउनुभयो । पर्यटन बर्ष २०२० को प्रवद्धनको लागि टिमसँग कालिञ्चोक पुग्नु भएको श्रृङ्खलाले कालिञ्चोकको प्राकृतिक सुन्दरताले सबैलाई मोहित बनाउने बताउनु्भयो ।

कालिञ्चोक कुरीमा रहेको होटल सुनपातिमा बस्नु भएको नेपाल सुन्दरी श्रृङ्खलाले कालिञ्चोकको होटल र होटल सञ्चालकहरुले गरेको आतिथ्यताले आफुहरु निक्कै प्रभावित भएको समेत सुनाउनुभयो ।

३८४२ मीटरको उचाईमा रहेको कालिञ्चोकमा यो मौसममा दोस्रो पटक शुक्रबारबाट लगातार हिमपात भइरहेको छ । हिमपातले सुन्दर देखिएको कालिञ्चोकमा चिसोको समेत पर्वाह नगरी हजारौ मानिस रमाई रहेको कुरीमा रहेको सुनपाती होटलका सञ्चालक हरि ओली बताउनुहुन्छ ।

चरिकोटबाट १७ किलोमीटरको दूरीमा रहेको कालिञ्चोकमा पुग्न अहिले हिमपातको कारण केही समस्या भएपनि चेन राखेको बोलेरोले पर्यटकलाई कुरीसम्म पुर्याउने गरेको र कुरीबाट कालिञ्चोक केबुलकार चढेर मन्दिरसम्म पुग्ने गरेको स्थानिय बताउछन् । अत्यधिक हिमपात र चिसोले पानी जम्ने भएपनि कालिञ्चोक केबलकारको सहयोग तथा कुरीका होटल व्यवसायीहरुको व्यवस्थापनमा पानीको राम्रो व्यवस्था गरिएको ओलीको भनाई छ ।

यो मौसममा पहिलो पटक मंसिर २७ गते हिमपात भएपछि अंग्रेजी नयाँ बर्ष यता कालिञ्चोकमा १० हजार भन्दा बढी आन्तरिक एवं बाह्रय पर्यटक कालिञ्चोक पुगिसकेको स्थानिय होटल व्यवसायीहरु बताउछन् ।