तपाईँ सुन्दै हुनुहुन्छः

पर्साको ठोरीमा हात्ती तथा जिप सफारी महोत्सव हुँदै

बीरगंज । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० सफल बनाउनका लागि पर्साको ठोरीमा हात्ती तथा जिप सफारी महोत्सव हुने भएको छ ।

बीरगंजमा आज आयोजित पत्रकार सम्मेलनमा गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठले पर्सा र चितवन राष्ट्रिय निकुन्जसँग जोडिएको ठोरी गाउँपालिकाले पुस २५ गतेदेखि २९ गतेसम्म पहिलो हात्ती तथा जिप सफारी महोत्सव गर्न लागेको बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले भ्रमण वर्ष सफल पार्न हात्ती तथा जिप सफारी महोत्सव गर्न लागिएको बताउदै ‘प्राकृतिक सम्पदाले भरिपूर्ण ठोरी गाउँपालिकामा थुप्रै पर्यटकीयस्थलहरु रहेको र महोत्सवको माध्यमबाट ठोरीमा पर्यटकलाई आकर्षित गर्ने योजनामा गाउँपालिका रहेको बताउनुभयो ।

ठोरी गाउँपालिका वडा नम्बर ५ सुर्वणपुरमा आयोजाना हुने महोत्सवको उद्घाटन वनमन्त्री शक्तिबहादुर बस्नेतले गर्ने कार्यक्रम तय भएको छ । महोत्सव अन्तरगत हुने जंगल सफारीमा निकुन्जमा दुलर्भ पाटेबाघ, हात्ती, गैंडाका साथै चित्तल, निलगाइ, हरिण, मृग, बँदेल, चराचुरुङगीलगायतका जीवजनावरको अवलोकन गराईने श्रेष्ठले बताउनुभयो ।

महोत्सवमा हात्ती र जिप सफारीका लागि नेपालीलाई छ सय र विदेशीलाई एक हजार एक सय रुपैयाँ शुल्क निर्धारण भएको पत्रकार सम्मेलनमा बताउदै श्रेष्ठले महोत्सवको क्रममा बिभिन्न आकर्षक कार्यक्रमको समेत आयोजना गरिने जानकारी दिनुभयो ।

करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको महोत्सवको आयोजनाका लागि गाउँपालिकाले १२ लाख रुपैयाँ बजेट विनियोजन गरेको समेत श्रेष्ठले बताउनुभयो ।

पत्रकार सम्मेलनमा ठोरी ५ का वडा अध्यक्ष रामबहादुर पाख्रिन, सुनाखरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष देवीप्रसाद दाहाल, पन्चमुखी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र साहको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button