तपाईँ सुन्दै हुनुहुन्छः

कक्षा सञ्चालनमा स्मार्ट विधि

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ८ बोचमा रहेको देवी मा.वि.ले स्मार्ट विधिबाट कक्षा सञ्चालन गरेको छ ।

कक्षा एक सम्म स्मार्ट विधिबाट कक्षा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक किशोर दहालले बताउनु भयो ।
जिल्लामै पहिलो पटक स्मार्ट विधिबाट कक्षा सञ्चालन गरेको देवी मा.वि.मा अहिले जिल्लाको अन्य विद्यालयबाट समेत स्मार्ट विधि अध्यनको लागि आउने गरेको प्रधानाध्यापक दहालले बताउनु भयो । अहिले वडा नम्बर ८ ले स्मार्ट विधिबाट कक्षा सञ्चालनको लागि वडा भित्र रहेको देवी मावि सहित पृथ्वी नारायण आधारभुत विद्यालय र लामिडाँडा प्राविलाई समेत टिभि सहयोग गरेको छ ।

स्मार्ट विधिबाट अध्यन गराउन पर्पल टर्टल सफ्टवयर मार्फत पाठ्यक्रममा रहेका विषयहरुलाई टिभिमा देखाएर अध्यापन गराईने विद्यालयले जनाएको छ ।

स्मार्ट विधिमा पाठ्यक्रममा रहेका विषयवस्तुहरुसंग सम्बन्धित काल्पनिक चित्रहरु सहितको श्रव्य दृश्य मार्फत अध्यापन गराउदा विद्यार्थीले सजिलै बुझ्न सक्ने भएकोले यो विधि निक्कै उपलब्धि मूलक रहेको प्रधानाध्यापक दहाल बताउनु हुन्छ ।
अहिले विद्यालयमा कक्षा १ सम्म स्मार्ट विधिले अध्यापन गराउन थालेपछि विद्यार्थीको क्षमता विकास भएको, अध्यनमा रुचि बढेको, विद्यालय छोड्ने विद्यार्थीहरुको संख्यामा कमी आएको, विद्यार्थीहरु उत्साहित ढङ्गले कक्षा कोठामा बस्ने गरेको प्रधानाध्यापक दहालको भनाई छ । देवी मावि बोचमा अहिले स्मार्ट कक्षा सञ्चालनको लागि तीन जना दक्ष शिक्षक रहेको तर विद्यार्थी संख्या अनुसार शिक्षक संख्या अपुग भएको प्रधानाध्यापक दहालले बताउनु भयो । दोलखा जिल्लामा देवी मावि बोचको अलवा बैतेश्वर गाँउपालिकामा रहेको हनुमन्तेश्वर मावि काब्रेले पनि स्मार्ट विधिबाट कक्षा सञ्चालन गरिरहेको हनुमन्तेश्वर माविका प्रधानाध्यापक गोपालध्वज श्रेष्ठले बताउनु भएको छ ।

वडा नम्बर ८ ले आफ्नो वडा भित्र रहेका विद्यालयहरुको गुणात्मक विकासको लागि बिभिन्न सहयोग गर्दै आएको र स्मार्ट विधिबाट अध्यापन गराउदा शैक्षिक गुणस्तर विकासमा निक्कै महत्वपूर्ण टेवा पुग्ने देखिएकोले वडाले समेत सहयोग गरेको भीमेश्वर नगरपालिका वडा नम्बर ८ का वडा सचिव मधुसुदन आचार्यले बताउनु भयो ।

८ नम्बर वडाले आफुनो वडा भित्र रहेको तीन वटा विद्यालय मध्य देवी मावि बोचलाई ३९ हजार रुपैयाको टिभी दिएको तथा पृथ्वी नारायण आधारभुत विद्यालय र लामिडाँडा प्राविलाई २२/२२ हजार बराबरको टिभी खरीद गरेर दिएको वडा सचिव आचार्यले बताउनु भयो । वडाले देवी मावि बोचका स्काउटमा आवद्ध ५० जना विद्यार्थीलाई स्काउट ड्रेस समेत वितरण गरेको छ ।

भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला वस्नेतले विद्यालयलाई टिभी र स्काउट ड्रेस हस्तान्तरण गर्नु भएको थियो । सो अवसरमा उपप्रमुख वस्नेतले नगरपालिका भित्रको शैक्षिक सुधारको लागि भीमेश्वर नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले शैक्षिक सुधार र विकास निर्माणको काममा वडा नम्बर ८ ले उल्लेख्य प्रगति गरेको समेत बताउनु भयो ।

वडा नम्बर ८ ले शैक्षिक सुधारमा सहयोगको अलवा जेष्ठ नागरिकहरुलाई लौरो र टर्च वितरण, किवि कटिङ तथा नर्सरी व्यवस्थापन तालिम, उद्घोषण तालिम, विद्यालयमा भित्तेपत्रिका प्रकाशनको लागि सहयोग लगायतका कार्यक्रम समेत सञ्चालन गरेको वडा अध्यक्ष नकुल केसीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button