तपाईँ सुन्दै हुनुहुन्छः

कालीगण्डकी करिडोर प्रसारण लाईन प्रभावितलाई क्षतीपूर्ती दिन शुरु

पर्वत । कालीगण्डकी करिडोर विद्युत प्रसारण लाईन क्षेत्रका प्रभावित बासिन्दालाई जग्गाको क्षतीपूर्ती वितरण गर्न शुरु भएको छ ।

निर्माणको अन्तिम चरणमा पुगेको २ सय २० केभी क्षमताको खुर्कोट– दाना प्रसारण लाइनबाट प्रभावित हुने पर्वत र म्याग्दीका सर्वसाधारणहरुलाई आयोजना पक्षले क्षतीपूर्ती वितरण गर्न शुरु गरेको हो ।

अधिकार क्षेत्रमा पर्ने जग्गाका धनीलाई करिब २३ करोड रुपैयाँ क्षतिपूर्ति बाँड्न लागेको करिडोर प्रसारण आयोजनाका प्रमुख चन्दकुमार घोषले जानकारी दिनुभयो ।

३९ दशमलब ६ किलोमिटर दुरीको प्रसारण लाइनको मध्य भागबाट दायाँ र बायाँ १५÷१५ मिटर भित्र पर्ने निजी जग्गाका धनीलाई टावर प्याडमा निर्धारण भएको मुआब्जाको दश प्रतिशतले हुने क्षतिपूर्ति वितरण गर्न लागिएको आयोजना प्रमुख घोषले बताउनुभयो ।

करिब एक हजार कित्ता निजी जग्गाका धनीलाई क्षतिपूर्ति दिन लागिएको र प्रशारण लाइनको अधिकार क्षेत्र भित्र पर्ने जग्गामा संरचना निर्माण र रुख बिरुवा रोप्न नपाउने भएकाले क्षतिपूर्ति दिन लागिएको घोषले बताउनुभयो । म्याग्दीको अन्नपूर्ण गाउपालिको वडा न। १, २, ३, ६, ७, रघुगंगा गाउँपालिकाको १, २ र ३ तथा पर्वतको कुश्मा नगरपालिकाको १, २, जलजला गाउँपालिकाको १, २, ३, ६, ७ र ८ नम्बर वडामा प्रशारण लाइन निर्माण भएको छ ।

कुल ११४ वटा मध्य १०८ वटा टावर बनेर तार तानि सकिएको छ । अन्नपूर्ण गाउपालिकाको पोखरेबगर क्षेत्रमा ६ वटा टावर निर्माण भैरहेको छ । टावर निर्माण भएका १०० घरधुरी जग्गाका धनीलाई यसअघि आठ करोड रुपैयाँ मुआब्जा वितरण गरिएको थियो । पर्वतमा ५५ र म्याग्दीमा ४० रोपनी निजी जग्गा अधिग्रहण भएको थियो । पर्वतमा तीन करोड ९७ लाख र म्याग्दीमा चार करोड १७ लाख रुपैयाँ मुआब्जा वितरण भएको छ । यो आर्थिक वर्षको साउन यता चार करोड ६६ लाख २३ हजार ४४३ रुपैयाँ मुआब्जा र क्षतिपुर्ति बाँडिएको आयोजनाले जनाएको छ ।

टावर निर्माण हुने जग्गालाई चार वर्गमा बाडेर प्रतिरोपनी पाँच लाख देखि तेह्र लाख रुपैयाँका दरले मुआब्जा दिइएको थियो । प्रशारण लाइनको अधिकार क्षेत्रमा पर्नेलाई टावरको मुआब्जाको दररेट अनुसार दश प्रतिशतका दरले क्षतिपूर्ति दिन लागिएको हो ।

म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी तथा सहायक नदी र मुस्ताङमा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादीत बिजुली केन्द्रिय ग्रिडमा जोड्न एशियाली विकास बैङ्कको सहयोगमा प्रशारण लाइनका साथै दाना र खुर्कोटमा सब स्टेशन बनाउन लागिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button