तपाईँ सुन्दै हुनुहुन्छः

बजार नपाउँदा नेपाली कागती बारीमा नै कुहियो

चितवन । भारतीय कागतीको कारण नेपालमा उत्पादन भएका कागतीहरु बारीमै कुहिन थालेका छन् ।

चितवनको बिभिन्न स्थानमा किसानहरुले लगाएको ‘सुन कागती’ बिक्री हुन सकेको छैन् । भारतबाट आयात हुने सोही सुन कागती भने नेपाली बजारमा बिक्री भइरहेको छ ।

चितवनका मुख्य बजारहरुमा कागतीको थोक बिक्रेताहरुले नेपाली कागतीलाई प्राथमिकता नदिएको कारण सोही एकै जातको कागती पनि बिक्री हुन नसकी बारीमा नै पहेलो भई कुहिन थालेको स्थानीय कृष्णप्रसाद दाहालले बताउनुभयो ।

चितवनका मुख्य बजार नारायणगढ र काठमाडौँमा पनि नेपाली कागतीले बजार पाउन सकेको छैन् । अधिकाँश कागतीका व्यापार गर्ने ठूला व्यापारीहरु भारतीय रहेको र उनीहरुले भारतबाट आयातित कागतीलाई मात्र प्राथमिकता दिँदा यहाँका किसान समस्यामा परेको उहाँले बताउनुभयो ।

चितवनमा कागतीको होलसेल बजार मूल्य करिव एक सय ५० रुपँैया प्रतिकिलो भएपनि नेपाली कागती ५०÷६० रुपैँयामा पनि बिक्री हुन नसकेको उहाँको गुनासो छ ।

स्थानीय किसानले उत्पादन गरेको कागतीले बजार नपाउँदा किसानहरुको लाखाँैको लगानी जोखिममा परेको कागती किसान सि.पी. अधिकारीले बताउनुभयो । उहाँले पूर्वी चितवनको कालिका र रत्ननगरमा करिव तीन बिगाहामा कागती खेती गर्दै आउनुभएको छ ।

कागती किसान दाहाल र अधिकारी प्रतिनिधि किसान मात्र हुनुहुन्छ। उहाँहरु जस्ता सयौँ किसानले लगाएको कागतीले बजार नपाई बारीमा नै ओइलाउन थालेको छ ।

चितवनको ठिमुरा, जमुनापुर, खोलेसिमल र रत्ननगर क्षेत्रमा सहित करिव ३० बिगाहाभन्दा बढी क्षेत्रमा कागती खेती हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button