२०७६ साल माघ ५ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

सवै विश्वविद्यालयमा एउटै व्यवस्था गर्ने गरी छाता ऐन ल्याउने तयारी

तुलसी सापकोटा २०७६ पुष २७ गते १९:५०

काठमाडौं । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले देशभर रहेका ११ वटा विश्वविद्यालयहरु सञ्चालनका लागि नयाँ छाता ऐन ल्याउने तयारी भैरहेको बताउनुभएको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिमा शिक्षा सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक माथिको छलफलका क्रममा मन्त्री पोखरेलले विभिन्न विश्व विद्यालयहरुमा छुट्टाछुट्टै रुपमा रहेको ऐनहरुलाई एउटै ऐनभित्र ल्याएर समान खालको व्यवस्था गर्ने तयारी भएको बताउनुभयो ।

विधेयकमा रहेको छात्रवृत्ती सम्बन्धी व्यवस्था, पदाधिकारीको व्यवस्था र विश्वविद्यालयहरुमा एकरुपता ल्याउनु पर्ने विषयमा भएको छलफल निश्कर्षमा पुग्न नसकिरहेको बेलामा शिक्षामन्त्री पोखरेलले सवै विश्व विद्यालयहरुमा एकै खालको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको हो ।

समितिले विधेयकमा प्रस्ताव गरिएका र मिल्न बाँकी सवै विश्वविद्यालयहरुमा एकरुपता, छात्रावृत्ती सम्बन्धी व्यवस्था र पदाधिकारीलाई पदवाट हटाउने व्यवस्थामा छुट्टै उपसमिति बनाएर छलफल गर्ने तयारी गरेको छ ।