तपाईँ सुन्दै हुनुहुन्छः

निर्देशन कार्यन्वयन नगरेको भन्दै समितिले मन्त्रीसँग जवाफ माग्ने

काठमाडौँ । राष्ट्रियसभा दिगो विकास तथा सुशासन समितिले समितिको निर्देशन कार्यन्वयन नगर्ने मन्त्रालयहरुसँग निर्देशन कार्यन्वयन नगर्नेका कारण माग गर्ने भएको छ ।

समितिको आज बसेको बैठकले बजार अनुगमनपछि सम्बन्धित मन्त्रालयलाई दिएको निर्देशन र मेलम्ची खानेपानीका विषयमा खानेपानी मन्त्रालयलाई दिएको निर्देशन कार्यान्वयन नभएको विषयमा मन्त्रीसँग जवाफ माग्ने भएको हो ।

बैठकमा समितिका सदस्य दीनानाथ शर्मा, कालिबहादुर मल्ल, भैरब सुन्दर श्रेष्ठ र विमला राई पौडेलले समितिले गरेको निर्णय र निर्देशनलाई सम्बन्धित मन्त्रालयले बारम्बार अटेर गरिरहेकाले अन्य विषयमा छलफल र निर्णय लिनुअघि पहिले गरिएका निर्णय र निर्देशनमा गम्भिर ढंगले छलफल गरिनुपर्ने बताउनुभयो ।

सदस्य महेशकुमार महराले समितिको निर्देशन संसद सचिवालयले नै अटेर गरिरहेको भन्दै अरुलाई निर्देशन दिने र कार्यान्वयन भए नभएको खोजिनुपर्ने बताउनुभयो ।

समिति सदस्यहरुले पुरानो संसद भवन र त्यसभित्रका सामानहरुको संरक्षण र पुनःप्रयोगका विषयमा दिएको निर्देशन संघीय संसद सचिवालयले नै अटेर गरिरहेको भन्दै सभापतिमार्फत सचिवालयको ध्यानाकर्षण गराउनुभएको थियो ।

बैठकमा समिति सदस्यहरु कमलाकुमारी ओली, कविता बोगटी, मुक्ताकुमारी यादव र खिमबहादुर बिकले समितिको निर्णय र निर्देशन सुनुवाई नहुनु गंभीर विषय भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button