तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरको पुरैनी तालमा ३१ प्रजातिका जलपन्छी 

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ भुराकोटमा जम्मा २९ बिघा दुई कट्टामा समेटिएको पुरैनी तालमा ३१ प्रजातिका जलपन्छी देखा परेका छन् ।

जनवरी ४ तारिखदेखि कञ्चनपुरका बिभिन्न ताल तथा नदीहरुमा गर्न लागिएको जलपन्छी गणनाका क्रममा पुरैनी तालमा मात्रै ३१ प्रजातिका चराचुरुंगीहरु देखा परेको पन्छी विज्ञ हिरुलाल डगौराले बताउनुभयो । उहाँका अनुसार, त्यस क्षेत्रमा रैथाने र अन्यत्रबाट आउने चराचुरुंगीहरुका लागि बसोबासको उपयुक्त स्थान रहेको छ ।

पर्यटकीय क्षेत्र पुरैनी तालको संरक्षण र प्रवर्धनका लागि बेलौरी नगरपालिकाले पनि सकृयता देखाएको छ ।

बेलौरी नगरपालिका वडा नम्बर ६ भुराकोटमा रहेको पुरैनी तालका लागि चालु आर्थिक वर्षमा नगरपालिकाबाट १५ लाख रकम बिनियोजन गरेको बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले बताउनु भएको छ ।

उक्त ताल संरक्षण र प्रवर्धनका लागि सौन्दर्यिकरण शीर्षकमा खानेपानी डिभिजन कार्यालय कञ्चनपुरले चालुआर्थिक वर्षमा २० लाख बजेट विनियोजन गरेको बताइएको छ ।

विगत लामो समयदेखि संरक्षणको पर्खाइमा रहेको पुरैनी तालमा रहेको जैविक तथा प्राकृतिक सुन्दरता र त्यहाँ आउने बिभिन्न प्रजातीका चराचुरुंगी तथा जीवजन्तुहरुको संरक्षण गर्न आवश्यक रहेको बेलौरी नगरपालिकाका प्रवक्ता तथा नेपाल भ्रमण वर्ष २०२० का बेलौरी नगर संयोजक विनोद नेपालीको भनाई छ ।

पुरैनी तालको विविधतालाई प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकका लागि सम्भावित महत्वपूर्णस्थलका रुपमा चिनिने उहाँको दावी छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पन्छी संरक्षण संघ, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगायतले संयुक्त रुपमा कञ्चनपुरमा रहेका पुरैनी ताल, बन्दा ताल, प्यारा ताल, रानीताल, तारा ताल, कालीकिच ताल, बेदकोट, ताल, स्याली नदी, चौधर नदी र सिमसार क्षेत्रलगायतका ताल तलैयाहरुमा जलपन्छी अनुगमनको कार्य गरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button