तपाईँ सुन्दै हुनुहुन्छः

खेलकुदबाट पर्यटन प्रवर्द्धन गर्न व्यासनगर अल्ट्रा म्याराथन हुने

तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं ५ मानहुँकोटबाट व्यास नगरपालिका वडा नं ८ पुलिमराङसम्म ४४ किमी दुरीको तेस्रो व्यास नगर अल्ट्रा म्याराथन हुने भएको छ ।

व्यास नगरपालिकाले खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले व्यास नगर अल्ट्रा म्याराथन गर्न लागेको आज नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा बताइएको थियो ।

सहिद दिवसको सन्दर्भमा आयोजना हुने म्याराथनले सहिदहरुको सम्मान र खेलकुद मार्फत व्यास नगरपालिकालाई राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा चिनाउन सकिने व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।

त्यस्तै नेपाल सरकारले लिएको नेपाल भ्रमण वर्ष २०२० को लागि समेत उक्त प्रतियोगिताले सहयोग पुर्याउने मेयर न्यौपानेले बताउनुभयो ।

तनहुँको व्यास नगरपालिका वडा नं ५ मानहुँकोटबाट शुरु हुने म्याराथन व्यास नगरपालिका वडा नं ८ पुलिमराङसम्म ४४ किमी दुरीको रहनेछ ।

म्याराथन मानुङ्गकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनीकुमालटारी–दुम्सी खहरे –कलेस्ती–पाथ्रा–सत्रसय–कालिका मार्ग हुँदै बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा गाडापानी हुँदै पुलिमराङमा पुगेर सकिनेछ ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले पर्यटकीय गाउँ मानहुँकोट र शहिद गाउँ पुलिमराङलाई खेलकुदको माध्यमबाट जोड्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले म्याराथन आयोजना गरिएको पत्रकार सम्मेलनमा बताउनुभयो ।

प्रथम पुरस्कार ८१ हजार ७६ हजार
प्रतियोगितामा प्रथम हुनेलाई नगद रु.८१ हजार ७६ रुपैयाँ, दोस्रो हुनेलाई नगद ६१ हजार ७६ रुपैयाँ, तेस्रो हुनेलाई नगद ५१ हजार ७६ रुपैयाँ र सान्त्वना हुने पाँच जनालाई जनही १६ हजार ७६ रुपैयाँ प्रदान अल्ट्रा म्याराथनका संयोजक एवं व्यास ९ का वडाअध्यक्ष सुरेश थापाले बताउनुभयो ।

“पुरस्कार रकम कर बाहेक हो ।”, नगरप्रमुख बैकुण्ठ न्यौपानेले भन्नुभयो, “ पुरस्कारमा लाग्ने कर नगरपालिकाले व्यहोर्नेछ ।” अघिल्ला वर्षमा पुरस्कार रकममा कर कटौती गर्दा बिजेता खेलाडीले मन दुखाएको हँुदा सो कर नगरपालिका आफैले व्यहोर्न लागेको नगरप्रमुख न्यौपाने जानकारी दिनुभयो ।

प्रतियोगिता सञ्चालनका लागि १३ लाख रुपैया खर्च हुने अनुमान व्यास नगरपालिकाले गरेको छ ।

नगरपालिकाले मानहुँकोट र पुलिमराङलाई पर्यटकीय गन्तव्य बनाउने लक्ष्य लिएको नगरप्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

व्यास नगरपालिकाले नेपालका ख्याती प्राप्त धावकहरुलाई सम्मान म्याराथनमा आमन्त्रण गर्ने बताएको छ । नगरपालिकाले ख्याती प्राप्त धावक बैकुण्ठ मानन्धर र कान्छीमाया कोजुलाई गतवर्ष झै यसपटक पनि कार्यक्रममा निमन्त्रण गर्ने बताएको छ ।

खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तेस्रोपटक हुन लागेको प्रतियोगितामा सहभागीताका लागि नगरपालिकाले अनुरोध गरेको छ ।

प्रतियोगितामा सहभागी हुने माघ १४ गते सम्म नाम दर्ता गर्न अनलाइन र नगरपालिकामा व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।

व्यासनगर अल्ट्रा म्याराथनलाई निरन्तरता किन ?
व्यासनगर अल्ट्रा म्याराथनलाई निरन्तरता दिनुका कारण बारे व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले भन्नुभयो,” धावन क्षेत्रका व्यक्ति अत्यन्तै उत्साहित भएका र म्याराथनले व्यास नगरपालिकाको गरिमा बढाएको महसुस गरेका छौ ।” मानहुँकोट र पुलिमराङका स्थानियबासी उत्साहित छन । धावन क्षेत्रका मानिसले अल्ट्रा म्याराथनको प्रशंसा गरेको न्यौपानेले जानकारी दिनुभयो ।

अहिले आन्तरिक पर्यटक दुबै स्थानमा बढेको न्यौपानेले बताउनुभयो । पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भुमिका देखिएको र नगरपालिकाको गौरवसंग जोडिएको हुँदा म्याराथन निरन्तर गर्न लागिएको प्रमुख न्यौपानेले बताउनुभयो ।

पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको व्यास नगरपालिका–५ स्थित मानहुँकोटमा आजभोली दैनिक ठुलो संख्या आन्तरिक तथा बाह्य पर्यटक मानहुँकोट पुग्ने गरेका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button