तपाईँ सुन्दै हुनुहुन्छः

चेम्बर अफ कर्मश ७० वर्षमा प्रवेश

भुवनप्रसाद आचार्य । नेपाली निजी क्षेत्रको जेठो व्यवसायिक संस्था नेपाल चेम्बर अफ कर्मश ७० वर्षमा प्रवेश गरेको छ ।

७० औ वर्ष प्रवेशसंगै नेपाल चेम्बर अफ कर्मशले सोमवार ६९ औ वार्षिक साधारण सभाको आयोजना गर्नुका साथै चेम्बर दिवस पनि मनाएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले मुलुकमा निजी क्षेत्रले उद्यम गर्ने वातावरण निर्माणमा जोड दिएको बताउनु भयो ।

अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको योगदान अझ बढोस भनेर सरकारले निजी क्षेत्र मैत्री र पारदर्शी कानूनहरु निर्माणलाई जोड दिएको बताउनु भयो ।

मुलुकको आर्थिक विकासको यात्रामा सरकार र निजी क्षेत्रसंगै रहेको र भावी यात्रामा संगै अघि बढ्ने उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले निजी क्षेत्रले भोग्नु परेका व्यवसायिक समस्या क्रमशः समाधान हुदै गएको बताउनु भयो ।

अर्थमन्त्री खतिवडाले सरकार आफनो तर्फबाट सेवाप्रवाह र निर्णय प्रकृया छिटो होस भनेर भरमग्दुर प्रयास गरेको भन्दै व्यवस्यीहरुलाई पनि स्वच्छ व्यवसाय गर्न र निर्यातमुलक उद्योगमा लगानी बढाउन पनि आग्रह गर्नु भयो ।

अर्थमन्त्री खतिवडाले उत्पादनमा वृद्धि र उत्पादनमुलक उद्योगमा लगानी नगरी दिगो आर्थिक वृद्धिमा जान सकिंदैन भन्दै प्याकेजिङ, ब्राण्डिङ,एक्सपोटिङ र सिपिङसम्मका विषयहरुमा व्यवसायीहरुसँग बसेर छलफल गरी अघि बढन सरकार तयार रहेको पनि उल्लेख गर्नु भयो ।

अर्थमन्त्री खतिवडाले व्यवसायिहरुलाई आयात भन्दा पनि निर्यातमा जोड दिन आग्रह गर्दै त्यसो गर्न सके राष्ट्र निर्माणमा समेत योगदान पुग्छ भन्नु भयो ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ती राज्यमन्त्री मोतीलाल दुगडले सरकारी सबै संस्थानहरुलाई नाफामा ल्याउने गरी सञ्चालन गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले उद्योगी व्यवसायीहरुका समस्या सरकारले आजको भोलि नै समाधान गर्ने र उद्योगी व्यवसायीहरुलाई सरकारले ज्वाइलाई जसरी सम्मान र सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनु भयो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले मुलुकमा व्यवसायीहरुले विभिन्न प्रकारका समस्या भोग्नु परेको तथा मुलुक फेरी लाईसेन्स राजतर्फ फर्कने होकी भन्ने त्रास र चिन्ता उद्योगी व्यवसायीहरुमा रहेको बताउनु भयो ।

त्यस अवसरमा चेम्बरद्धारा स्थापित विभिन्न पुरस्कारहरुबाट विभिन्न उद्योगी व्यवसायीहरुलाई अर्थमन्त्री खतिवडाले सम्मान गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button