तपाईँ सुन्दै हुनुहुन्छः

नेटर्वकीङ बिजनेशको जालोमा युवा युवती

दोलखा । दोलखा विगु गाँउपालिका वडा नम्बर ८ भोटेचाँगुका पुष्कर थामी अहिले बिरामी हुनुहुन्छ । रोजगारीको प्रलोभनमा नेटर्वकिङ बिजनेसको जालोमा पुग्नुभएका उहाँ बुबाले दुःख गरेर कमाएको एक लाख रुपैया आफ्नो कारणले डुबेको थाहा पाएपछि मानसिक रुपमा बिरामी हुनभएको हो ।

सदरमुकाम चरिकोटको आईसल्याण्ड मल्टी एकेडेमीबाट १८ महिने सर्वेक्षक (अमिन) कोर्ष पुरा गरेर पनि बेरोजगार बस्नुभएका १९ बर्षिय पुष्करलाई कलेजमा संगै पढने ओखलढुङ्गाका इन्द्र खड्काले झापाको विर्तामोडमा रोजगारीको अवसर छ भनेर बोलाएका थिए ।

रोजगारीको प्रलोभनमा परेर उहाँ मंसिर ३ गते झापातिर लाग्नुभएके थियो । उहाँको साथीले उहाँलाई झापा हुदैँ भारतको सिलगुडि बोलाए । झापा हुदै सिलगुडी पुग्नुभएका पुष्करले रोजगारी त पाएनन् नेटर्वकीङ बिजनेशको जालोमा पुगेपछि पैसा डुबाएर बिरामी हुदैै घर फर्किएको उहाँका बुबा शुक्र थामी बताउनुहुन्छ ।

पुष्करका बुबा शुक्र छोरा रोजगारीको लागि भनेर झापा पुगेपछि नापीको कामको लागि आवश्यक पर्ने सामान किन्न भनेर एक लाख रुपँैया मागेको र आफुले सिंगटीबाट आईएमई गरेर मंसिर २२ गते एक लाख पठाएको बताउनुहुन्छ ।

छोरा झापा जाने भनेर भारतको सिलगुढी पुगेको रहेछ मलाई त्यसबारे जानकारी थिएन् शुक्रले भन्नुभयो – छोराले कामको लागि सामान आवश्यक भयो भनेर पैसा मागेपछि मासिक तीन हजार ब्याज दिने गरी ऋण लिएर एक लाख रुपैया आईएमई गरेर पठाए तर छोरा त रोग पो बोकेर आएछ ।

छोरा मंसिर २९ गते बिरामी भएर घर फर्किएको र त्यतिबेला छोराले आफु सिलगुढी छु भनेर नभनेको बुबा शुक्र बताउनुहुन्छ । छोरा त्यतिबेला एक हप्ता घर बसेर ठिक भएपछि पुष ६ गते काम गर्न जान्छु भनेर पुनः उतै फर्किएको थियो तर पुष १३ गते त पूर्ण रुपमा मानसिक रोगी भएर आयो बुबा शुक्रले भन्नुभयो । पछिल्लो पटक मानसिक बिरामी भएर फर्किए पछिमात्र आफुले छोरा झापा जान्छु भनेर सिलगुढी पुगेको र आफुले पठाएको एक लाख पनि नेटर्वकीङ बिजनेश गर्नेले ठगेको थाहा पाएको बुबा शुक्रले बताउनुभयो ।

पुस १३ गते बिरामी भएर फर्किएको पुष्करलाई झण्डै १० दिन चरिकोटको प्रस्तावित चरिकोट अस्पतालमा राखेर मानसिक रोगको उपचार गरेपछि अहिले केहि ठिक भएको बुबा शुक्रले बताउनुभयो । त्यतिबेला आउदा त नाङ्गै हिड्ने, लुगा च्यात्ने, मोवाईल फुटाउने गथ्र्यो बुबा शुक्रले भन्नुभयो – अहिले उपचारपछि निक्कै राम्रो भएको छ ।

पुष्करले पनि बुबाले दुःखसँग ऋण गरेर पठाएको पैसा डुबेको थाहा पाएपछि आफुमा मानसिक समस्या भएको तर अहिले बुबा आमा सबैको मायाले ठिक भएको बताउनुभयो । अब आफु त्यसरी नठगिने र अरुलाई पनि सचेत गराउने पुष्कर बताउनुहुन्छ ।

सिलगुढीमा रहेको ओरीयन्ट ग्लोबल मार्केटिङ प्रालिमा रहेका इन्द्र श्रेष्ठ जस्ता केहीले आफुलगायत अरु धेरै बेरोजगार युवा युवतीलाई ठूला ठूला सपना देखाएर बोलाउने गरेको र सुरुमा तीन दिनको नेटर्वकीङ सम्बन्धि कक्षा लिने गरेको पुष्करको भनाई छ ।

तीन दिनको कक्षापछि एक लाख माग्ने र अरु दुई जनालाई सदस्य बनाएर बोलाएपछि प्रत्येक हप्ता कमिसन बापत पैसा आउने लालच देखाउने गरेको उहाँ बताउनुहुन्छ । उनीहरुले पाँच बर्षको अवधिमा दुई करोड भन्दा बढी कमाई हुने, बिदेश जान पाईने, कार चढ्न पाईने जस्ता लालच देखाउने गरेको पुष्करको भनाई छ । सिलगुढीमा दोलखाकामात्र पचासभन्दा बढी युवा युवती रहेको पुष्करले बताउनुभयो । उनीहरु सुरुमा रोजगारीको प्रलोभनमा पुगेर पैसा डुबाएको र पछि आफ्नो पैसा उठ्छकी भनेर बाध्य भएर त्यतै बसेको पुष्करले बताउनुभयो । उनीहरु मध्यकै धेरैले दोलखाका अन्य युवाहरुलाई रोजगारीको प्रलोभन देखाएर बोलाउने गरेको पुष्करको भनाई छ ।

पुष्करको बुबाले सोमवार जिल्ला प्रहरी कार्यालयमा नेटर्वकीङ ब्यवसायको नाममा आफ्नो छोरालाई ठगि गरेको र मानसिक पीडा दिएको भन्दै उजुरी दिनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेल नेटर्वकीङ विजनेशको नाममा भएको ठगिको विषयमा उजुरी आएको र त्यसबारे प्रहरीले अनुसन्धान थालेको बताउनु हुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button