तपाईँ सुन्दै हुनुहुन्छः

गाडीभित्र अश्लील गतिविधि गर्ने पक्राउ

काठमाडौं । सार्वजनिक सवारी साधानभित्र अश्लील गतिविधि गर्ने युवकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । अभियुक्त तनहुँको तत्कालीन अरुणोदय गाविस घर भई हाल चितवनको भरतपुरस्थित विकासचोक बस्ने २१ वर्षीय रवीन सार्की भनिने रवीन रुचाल छन् ।

विसं २०७५ माघ ११ गते बसभित्र त्यस्तो गतिविधि गरेको दृश्य सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो । गत वर्ष साउनमा खिंचिएको भिडियो सात महिनापछि माघमा अपलोड गरेको खुल्न आएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ ।

चितवन प्रहरीसँगको समन्वयमा महाशाखाको टोलीले आइतबार अपराह्न चितवनको भरतपुरबाट उनलाई पक्राउ गरी थप कारवाहीका लागि काठमाडौँ ल्याएको थियो । महाशाखा प्रमुख सहकुलबहादुर थापाले ठूलो मेहनत गरेर एक वर्षपछि नै भए पनि घटनाका अभियुक्त पक्राउ गर्न सफल भएको बताउँदै साइबार अपराधमा मुद्दा चलाइने जानकारी दिनुभयो । “पहिचान नभएको अभियुक्त हो, पत्ता लगाउन ठूलो मेहनत गरेका छौँ, गुगल र फेसबुकसँग आइपी एड्रेस मागी पत्ता लगाएर पक्राउ गर्न सफल भयौँ”, थापाले रासससँग भन्नुभयो ।

घटना भएको समयभन्दा तीन वर्षअघिदेखि उनी काठमाडौँ बस्दै आएका थिए । त्यो बेला उनले रिक्सा चलाउँथे । घटनाको केही समयपछि प्रहरीबाट बच्न उनी भारत गएका थिए । लामो समयसम्म प्रहरीले युवकको पहिचान गर्न सकेको थिएन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० पनि घटनाको अनुसन्धानमा लागेको थियो । घटनाको केही समयपछि प्रहरीले गाडी भने काठमाडौँको ढल्कुमा फेला पारे पनि तथ्य पत्ता लगाएको थिएन । घटना सामसुम भएको ठानेर उनी तीन महिनाअघि भारतबाट नेपाल आएको महाशाखाले जनाएको छ ।

उनले घटनासँग सम्बन्धित विषय फेसबुकमा समेत सन्देश पोष्ट गरेको प्रहरीले जनाएको छ । पहिचान भएको दोस्रो दिनमा नै उनलाई पक्राउ गरिएको हो । उनीविरुद्ध साइबर अपराधमा मुद्दा चलाइने प्रहरीले जनाएको छ । कसुर प्रमाणित भए पाँच वर्षसम्म कैद र रु तीन लाखसम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button