तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा एक महिने मकर मेला सुरु

मकवानपुर । मकवानपुरको प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा बिकसित हेटौंडाको कुष्माण्ड सरोवर त्रिवेणीधाममा एक महिने मकर मेला आजबाट सुरु भएको छ ।

हरेक वर्ष माघ महिनाभर मेला लाग्ने मकर मेलाको बुधबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले उद्घाटन गर्नुभएको हो ।

मेलाको उद्घाटन गर्दै प्रमुख खुलालले कुष्माण्ड सरोवर त्रिवेणीधाम मकवानपुरको धार्मिक पर्यटकिय क्षेत्रको रुपमा बिकसित हुँदै गएको बताउनुभएको छ । उहाँले यसको प्रचारप्रसारमा ध्यान दिनुपर्ने समेत बताउनुभयो ।

कुष्माण्ड सरोवर त्रिवेणीधाममा हरेक वर्ष माघ महिनाभर मेला लाग्ने मेलामा महिनाभर एकसय ८ गौमुखी धारामा मकर स्नान, दैनिक भागवत पाठपारायण, ख्यातिप्राप्त गुरुजनबाट दैनिक प्रवचन, भजन कीर्तन, साँझ आरति, सामूहिक ब्रतवन्ध गर्नेहरुको भिड लाग्ने गरेको छ ।

माता कुष्माण्ड भगवतीले तपस्या गरी सिद्धि प्राप्त भएको सिद्ध क्षेत्र, पाण्डवहरुले श्राद्ध तर्पण गरेको, अम्बरीस राजाले भगवान विष्णुको आज्ञाले एकसय आठ धारामा स्नान गरी सन्तान लाभ भएकोलगायत विभिन्न रोग निदान भएको धर्मशास्त्रमा उल्लेख भएअनुसार यस क्षेत्रको महत्व रहेको कुष्माण्ड सरोवर त्रिवेणीधाम विकास समिति अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

तीन नदीको संगमस्थलका साथै उत्तरबाहिनी नदीका कारण पनि त्यस क्षेत्रमा गरिने स्नानको विशेष महत्व छ । मकर मेलाबाहेक कुष्माण्ड नवमी मेला, एकादशी, वडादशैं, साउन महिनाका सोमबारहरुमा त्यहाँ श्रद्धालुको बढी भीड लाग्ने गरेको छ ।

कुष्माण्ड सरोवर त्रिवेणीधाममा मुक्तिनाथपछि एक सय ८ गौमुखीधारा, पोखरीको बिचमा कुष्माण्ड भगवतीको मन्दिर, शीस महललगायतका भौतिक संरचनाहरु प्रमुख आकर्षणका रुपमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button