तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री शंकर पोखरेल र नेपालका लागि चीनका राजदूत होउ यान्छीबीच भेटवार्ता

बुटवल। माननीय मुख्यमन्त्री शंकर पोखरेलसंग आज नेपालका लागि चीनका महामहिम राजदूत होउ यान्छीले भेट गर्नुभयो ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा राजदूत यान्छीले माघी पर्वको शुभकामना दिदै प्रदेश पाँचले आर्थिक विकासमा हासिल गरेको उपलब्धीप्रति बधाई दिनुभयो ।

मुख्यमन्त्रीले नेपाल र चीनलाई बौद्ध संस्कृतिले जोडेको चर्चा गर्दै लुम्बिनी दुई देशको सम्बन्धको महत्वपूर्ण माध्यम रहेको बताउनुभयो । उहाँले लुम्बिनी र चीनका सम्पदा क्षेत्रको सम्बन्धलाई अझ जिवन्त बनाउने सोंचमा रहेको र त्यसका लागि आपसमा सहकार्य र सहयोगको खाँचो रहेको बताउनुभयो । त्यसैगरी,उहाँले प्रदेश ५ र सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम भएको बताउँदै सिचुवानले गरेको कृषिको व्यवसायीकरण र औद्योगिक विकासको अनुभव हाम्रा लागि काम लाग्ने बताउनुभयो । सिचुवानका गर्भनरलाई प्रदेश ५ भ्रमणको निमन्त्रणा दिएको र त्यसको आवश्यक प्रबन्ध मिलाउन महामहिम राजदूतलाई आग्रह गर्नुभयो ।

राजदूत यान्छीले नेपालको विकास प्रयासमा चीन सधैं सहयोगी रहेको चर्चा गर्दै अहिले नेपाल दु्रत विकासको बाटोमा हिडेको र त्यो प्रयासमा चिनियाँ साथ रहेको बताउनुभयो । उहाँले केही महिना अघि चिनियाँ राष्टपतिको नेपाल भ्रमण र नेपालका राष्टपति विद्यादेवी भण्डारीको चीन भ्रमणले दुई देशबीचको सम्बन्ध अझ उचाईंमा पुगेको बताउनुभयो ।

मुख्यमन्त्रीले विआरआई परियोजना अन्तर्गत केरुङ काडमाडौं रेलमार्ग लुम्बिनी ल्याउने योजना पूरा गर्न सक्दा यो क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले यो प्रदेशमा रुपन्देहीको मोतीपुर, बाँकेको नौबस्ता र दाङको घोराहीमा ठूला औद्योगिक क्षेत्र बनाउने योजना अघि सारेको र तीमध्ये एक चिनियाँ मोडलको औद्योगिक क्षेत्र होस् भन्ने चाहेको बताउनुभयो । त्यसैगरी, बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालको स्तरोन्नती र सेवा सुधार गर्न लागेको र ती अस्पतालको सुधारमा चिनियाँ अनुभवबाट सहयोग पुग्ने बताउनुभयो ।

लुम्बिनी चिनियाँका लागि आउन चाहने एउटा प्रमुख ठाउँ भएको बताउँदै राजदूत यान्छीले सिचुवानको छेन्दु भैरहवा सिध उडानका लागि सहयोग र अभिप्रेरित गर्ने बताउनुभयो । उहाँले छेन्दु भैरहवा सिधा उडानले प्रदेश ५ र सिचुवानबीचको सम्बन्ध अझै राम्रो हुने बताउनुभयो ।
मुख्यमन्त्रीले कृषिको व्यवसायीकरण र पर्यटन प्रवद्र्धन मार्फत प्रदेशको समृद्धि गर्दै सिंगो मुलुकको विकासमा योगदान गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो । केही महिना अघि भएको सिचुवान भ्रमणका क्रममा कृषिको नयाँ प्रविधिबारे त्यहाका कृषि विज्ञसंग भेटेको र त्यहाँका विज्ञ यहाँ ल्याएर प्रविधि हस्तान्तरणका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले परम्परागत शिक्षाका लुम्बिनी बौद्ध विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय यहाँ रहेका, ती दुई विश्वविद्यालय र चीनमा परम्परागत शिक्षाको महत्वपूर्ण मानिने कन्फ्युसियस विश्वविद्यालयबीच विद्यार्थी आदान प्रदान गर्न सकिने बताउनुभयो । मुख्यमन्त्रीले लुम्बिनी भ्रमण बर्षको समापन तथा बुद्ध जयन्ती समारोहमा महामहिम राजदूतलाई लुम्बिनीमा निमन्त्रणा गर्नुभयो ।
राजदूत यान्छीले लुम्बिनी,कपिलवस्तुको तिलौराकोट सहित बौद्ध सम्पदास्थलको भ्रमण गर्न लागेको र ती क्षेत्रको भ्रमण गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

मिति २०७६ माघ १
शेरबहादुर केसी
प्रेस सल्लाहकार

प्रतिक्रिया राख्नुहोस्

Back to top button