२०७८ साल वैशाख ५ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

‘सबै तीर्थ पटक–पटक, परशुरामधाम एकपटक’

करन ताम्राकार २०७६ माघ १ गते १५:२०

परशुरामधाम। सुदूरपश्चिम प्रदेश भौगोलिक रुपमा जति विकट भनेर चिनिन्छ । प्राकृतिक रुपमा उत्तिकै रमणीय पनि छ । प्रकृतिको उपहारसँगै सुदूरपश्चिममा धार्मिक पर्यटनका थुप्रै आकर्षक गन्तव्यहरू छन् । ती मध्येको एक हो, परशुरामधाम ।

‘सबै तीर्थ पटक–पटक, परशुरामधाम एकपटक’ स्कन्दपुराणको मानसखण्डमा उल्लेखित यो भनाइले नै परशुरामधामको धार्मिक महत्व दर्शाउँछ । सुदूरपश्चिम प्रदेशकै पवित्र तीर्थस्थल परशुरामधाम डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाउँमा पर्दछ ।

श्यामा (महाकाली) र एला (रंगुन) नदीको संगममा रहेको यस तीर्थमा भृगुवंशी महर्षि जगदग्नी र रेणुका पुत्र परशुरामले तपस्या गरेको विभिन्न पुराणहरूमा वर्णन गरिएको छ । एला र श्यामाको संगममा जगदग्नी पुत्र परशुरामको आश्रय रहेको स्कन्दपुराणमा उल्लेख गरिएको छ ।

हैयेय वंशी क्षत्रीहरूले पिता जगदग्नीको हत्या गरी कामधेनु गार्य अपहरण गरेको र आततायी क्षत्रीयहरुको अत्याचार कम गर्न क्षत्रीय विनास गरेको २१ पटक पृथ्वीलाई क्षत्रीविहीन गरेपछि सरयूश्यामा नदीमा स्नान गरेको पुराणमा उल्लेख छ । महाकालको जटाबाट निस्केको मन्दाकिनी गंगा महाकाली नदीमा स्नान गर्नाले गंगास्नानको बराबर पुण्य प्राप्त हुन्छ । त्यस्तै गंगाको तटमा अवस्थित परशुराम तीर्थमा स्नान, तर्पण गर्नाले पितृ उद्धार तथा देवलोक प्रप्त हुने पवित्र तीर्थ भनेर वर्णन गरिएको परशुराम तीर्थ महाकाली नदीको दक्षिणतर्फ अवस्थित छ।

परशुराम तीर्थमा स्नानको निकै ठूलो महत्व रहेको छ । गंगास्नानको समान पुण्य प्राप्त हुने पौराणिक मान्यता छ । त्यसमा पनि मकर स्नान अर्थात माघ स्नानको निकै ठूलो महत्व रहेको छ । स्नानसँगै पितृ कार्य, देव पूजन, यज्ञयज्ञादि विधिपूर्वक गर्ने गरिन्छ ।

यज्ञादिसँगै विवाह, व्रतबन्ध आदि संस्कार र अनुष्ठान गर्ने गरिन्छ । रथ पूजनको विशेष महत्व रहेको छ। विष्णु कुण्डमा विष्णु, वामदेव, कुण्डमा शिव, परशुराम कुण्डमा परशुराम भगवानको पूजा र नदीतटमा रहेको शिवलिंगमा शिवपूजनको विशेष महत्व रहेको छ ।

माघे सङ्क्रान्तिमा मेला

हरेक वर्षजस्तै यस वर्ष पनि माघे सङ्क्रान्तिमा परशुरामधाममा मेला लाग्ने भएको छ । परशुरामधाममा पुस महिनाको मसान्त तथा माघे सङ्क्रान्तिका अवसरमा मेला लाग्ने गर्छ । परशुरामधाममा रहेका चुनढुंगा भगवान् परशुरामले तपस्या गरेपश्चात होम गरेपछि बनेको भन्ने जनविश्वास रहँदै आएको छ ।

पुस मसान्तको साँझ त्यहाँ पुगेर रातभरि मुडाको आगो तापेर भक्तजन जागाराम बस्ने गर्दछन् । त्यसो गर्नाले धर्म कमाइने आस्था रहेको छ । त्यसपछि माघ १ गते बिहानै ४ बजेबाट महाकाली किनारमा नुहाउने भक्तजन भीड लाग्छ । माघे सङ्क्रान्तिको दिन गङ्गा स्नान गरेमा सम्पूर्ण पाप कट्टी हुने तथा पुण्य कमाइने विश्वास रहिआएको छ ।

मेला भर्न सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला तथा छिमेकी राष्ट्र भारतबाट समेत तीर्थालु आउने गरेको परशुराम क्षेत्र विकास समितिले जनाएको छ ।

नेपालका चार धाममध्येको एक परशुरामधाम प्रचार–प्रसार नहुँदा ओझेलमा पर्न थालेको छ । पर्यटन विकास गर्ने उद्देश्यले परशुरामधाममा हरेक वर्ष माघे सङ्क्रान्तिका दिन मकर मेला लागाउने गरेको परशुरामधाम विकास क्षेत्र समितिका अध्यक्ष कैलाशकुमार पाण्डेयले बताउनुभयो ।

हिन्दू देवीदेवताका तेत्तिसकोटी मठमन्दिरमध्ये परशुरामधाम मात्र एउटा यस्तो पवित्रधाम हो, जसको संसारमा अन्यत्र कहीँ पनि मन्दिर पाइँदैन । स्कन्द पुराणमा उल्लेख भएअनुसार नजिकै रहेको पूर्णागिरि मन्दिर सतीदेवीको पूर्ण अङ्ग पतनपछि भगवान् शिव आएर यही धाममा लामो कालखण्ड तपस्या गरेको पाइन्छ । पछि ईश्वरीय अवतारका लागि यही पुण्यभूमिमा परशुराम अवतार भएको किंवदन्ती रहेको छ । महाकाली नदीको किनारामा रहेको चुनढङ्गामा बसेर भगवान् शिव र विभिन्न ऋषिहरुले तपस्या गरेको उल्लेख गरिएको पुराणमा सबै धामको पुण्य परशुरामधामबाट पाउन सकिने उल्लेखसमेत गरिएको छ ।
परशुरामधाम कसरी पुग्ने ?
एकातिर चुरे पर्वत शृङ्खला र अर्कोतिर महाभारत पर्वतसँगै भारतको पूर्णागिरि पर्वतको मध्ये भागमा रहेको परशुरामधाम डडेल्धुरा जिल्ला सदरमुकामदेखि झण्डै १०० किलोमिटर र कञ्चनपुर जिल्लाबाट ३९ किलोमिटरको दूरीमा सडकमार्गबाट पुग्न सकिन्छ । धार्मिक पर्यटकीय दृष्टिकोणले पनि परशुरामधाम पर्यटक भित्र्याउन सकिने क्षेत्रहरुमध्येको रमणीय क्षेत्र मानिँदै आएको छ ।

महाकाली पारी परशुरामधामदेखि सात किलोमिटरको दूरीमा रहेको पूर्णागिरि मन्दिरमा वर्षेनी आउने लाखौँ धार्मिक पर्यटकमध्ये एक चौथाइ पनि परशुरामधाममा आउने वातावरण सिर्जना गर्ने हो भने डडेल्धुुराको आर्थिक विकासमा मात्र नभएर सुदूरपश्चिमा धार्मिक पर्यटनको ठूलो विकास हुनसक्ने सम्भावना रहेको छ ।

परशुराममा रहेको एक मात्र छोटी भन्सार कार्यालय १० वर्षीया द्वन्द्वका बेला बन्द भएपछि कहिलेकाहीँ आउने भारतीय पर्यटकसमेत आउन छाडेका छन् । धार्मिक पर्यटनका दृष्टिकोणले परशुरामधाम हिन्दूहरुको पवित्र धार्मिकस्थल भए पनि अन्य पर्यटकका दृष्टिकोणले पनि त्यो उत्तिकै महत्व राख्ने स्थानीयवासीको भनाइ छ ।

सरकारको चरम उपेक्षाले मुलुकको नेपाल–भारतको सिमाङ्कृत परशुरामधामको महत्व ओझेलमा परेको हो । अन्य वर्षको तुलनामा यस वर्ष सो क्षेत्रसम्मै सडक बाटो पुगेकाले दर्शनार्थीहरुको ठूलो घुइँचो लगे पनि अन्य समयमा अन्तरिक तथा बाह्य पर्यटक नआउने गरेको परशुराम विकास क्षेत्रका अध्यक्ष पाण्डेयले बताउनुभयो ।

परशुरामधामको विकासमा स्थानीय, सरकारी निकायको उदासिनताका कारण यसको अवस्था जीर्ण बन्दै गएको छ । महाकालीको तीरमा अन्यन्त सुन्दर रमणीय क्षेत्रका रहेका यस क्षेत्रलाई वर्षेनी महाकली नदीले समेत कटान गर्दै गरेकाले यो क्षेत्र प्रकृतिकरूपमा समेत सङ्कटमा पर्दै गएको छ । रासस

सम्बन्धित

छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

८ घन्टा अगाडि रेडियो नेपाल