तपाईँ सुन्दै हुनुहुन्छः

बन्दीपुर दौडको उपाधि काठमाडौँका यादवलाई  

दमौली –  तनहुँको बन्दीपुर गाउँपालिकाले आज आयोजना गरेको दौड प्रतियोगिताको उपाधि काठमाडौँका अजितकुमार यादवले जित्नुभएको छ । बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगितामा खुलातर्फको उपाधि यादवले जित्नुभएको हो ।

बन्दीपुरको डुम्रेबजारदेखि गाउँपालिकाको कार्यालयसम्मको आठ किमी दूरी ३८ मिनेट ५३ सेकेण्डमा पार गर्दै यादवले उपाधि जित्नुभएको हो । प्रतियोगितामा ओेखलढुङ्गाका अनिल कार्की द्वितीय हुनुभएको छ । उहाँले उक्त दूरी ३९ मिनेट १६ सेकेण्डमा पूरा गर्नुभयो । प्रतियोगितामा प्रथम र द्वितीय हुने धावकले क्रमशः रु ३० हजार र १५ हजार प्राप्त गर्नुभयो ।

आन्तरिकतर्फको दौडमा बन्दीपुर–१ निवासी चन्द्रकुमार सुनार प्रथम र वडा नं २ निवासी रविन गुरुङ द्वितीय हुनुभयो । उहाँहरुले क्रमशः उक्त दूरी ४४ मिनेट ५१ सेकेण्ड र ४६ मिनेट ३७ सेकेण्डमा पूरा गर्नुभयो । प्रतियोगितामा खुल्ला र आन्तरिक गरी ३० धावकको सहभागिता रहेको थियो । विजेताहरुलाई गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल र गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले पुरस्कार वितरण गर्नुभयो ।

सो अवसरमा मन्त्री लम्सालले खेलकुदका माध्यमबाट पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । पर्यटनबाट समृद्धि सम्भव रहेको चर्चा गर्दै उहााले पर्यटकीय क्षेत्रको विकासका लागि सरकारले सहयोग गर्ने बताउनुभयो । नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर बन्दीपुरको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसहित दौड आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिनुभयो ।

गाउँपालिकाले सोही अवसरमा एकल पुरुषलाई सिरकसमेत वितरण गरेको छ । गत वर्ष एकल महिलालाई सिरक वितरण गरेको गाउँपालिकाले यो पटक ७० वर्ष उमेर कटेका ६०० एकल पुरुषलाई सिरक वितरण गरेको हो । बन्दीपुरलाई पर्यटनका माध्यमबाट परिचित गराउन गाउँपालिकाले विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ । गाउँपालिकाले गत वर्ष वडा नं ४ विमलनगरस्थित सिद्धगुफाभित्र टेवलटेनिस प्रतियोगिता र कविता वाचन प्रतियोगिता सम्पन्न गरेको थियो ।   रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button