तपाईँ सुन्दै हुनुहुन्छः

सबैले पानीको सदुपयोग गर्नुपर्ने खानेपानी संस्थानका केन्द्रीय अध्यक्ष चौधरीको भनाई

कञ्चनपुर  । पानी बिना कुनै पनि जीव बाच्न नसक्ने हुँदा सबैले पानीको सहि सदुपयोग गर्नुपर्ने खानेपानी संस्थानका केन्द्रीय अध्यक्ष जिउलाल चौधरीले बताउनु भएको छ ।
उहाँले एक घर, एक खानेपानी धाराको अवधारणा लिएर देशभर खानेपानी व्यवस्थापन गर्ने सरकारको रणनीति रहेको उल्लेख गर्नुभयो ।
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ५ सुदर्शनपुरमा दर्शन युवा क्लबले बुधबार आयोजना गरेको थारू समुदायको नयाँ वर्ष तथा  माघ मिलन कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी संस्थानका अध्यक्ष चौधरीले खानेपानीको क्षेत्रमा क्रियाशील सबै निकायले आमनागरिकको पहुँचमा स्वच्छ खानेपानी पुर्‍याउन सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै उहाँले थारू समुदायको कला, संस्कृति र मौलिकतालाई देशविदेशमा प्रचारप्रसार गर्नुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले केन्द्रीय शासन व्यवस्था छँदा पछाडि पारिएका थारू समुदाय संघीयता संगै जागरूक भइसकेको उल्लेख गर्नुभयो ।
अन्य समुदायका चाडपर्वलाई जस्तै थारू समुदायका चाडपर्वलाई पनि तीनै तहका सरकारले महत्त्व दिनुपर्नेमा उहाँले जोड दिनुभयो । स्थानीय तहको निर्वाचन पछि प्रत्येक समुदायका संस्कृति संरक्षण र प्रवर्द्धनका लागि नगर कार्यपालिकाबाट बजेट विनियोजन गर्दै आएको उहाँले दाबी गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button