तपाईँ सुन्दै हुनुहुन्छः

डुम्रे–बन्दिपुर दौडको उपाधि सप्तरीका यादवलाई

तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिकाले बुधबार आयोजना गरेको दौड प्रतियोगिताको उपाधि सप्तरी राजविराजका अजितकुमार यादवले जित्नुभएको छ ।

यादवले खुलातर्फबाट निर्धारित १० किलोमिटर दुरी ३८ मिनेट ५३ सेकेण्डमा पार गर्दै उपाधि जित्नुभएको हो । गतवर्ष पनि यादवले उपाधि जित्नुभएको थियो ।

त्यस्तै उक्त दुरी ३९ मिनेट १६ सेकेण्डमा पार गर्दै ओखलढुङ्गाका अनिल कार्की दोस्रा हुनुभएको छ । खुल्लातर्फ ४१ मिनेट २९ सेकेण्डमा उक्त दुरी पार गर्दै सिन्धुलीका नेपाली सेनामा कार्यरत जितेन्द्र दनुवार तेस्रो हुनुभएको छ ।

खेलकुदको माध्यमबाट बन्दिपुरको पर्यटन प्रवर्द्रधन गर्ने उद्देश्यसहित आयोजना गरिएको तेस्रो डुम्रे(बन्दिपुर दौड प्रतियोगितामा आयोजना गरिएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले बताउनुभएको छ । ’बन्दिपुर दौडको शान, सुन्दर पर्यटकीय नगरीको पहिचान’ भन्ने मूल नाराका साथ उक्त प्रतियोगिता आयोजना गरिएको हो ।

तनहुँको डुम्रेबजारदेखि बन्दिपुर गाउँपालिकाको कार्यालय सम्मको १० किमी दुरीको दौड बन्दिपुर गाउँपालिकाको आयोजना तथा छपेली सांस्कृतिक युवा क्लवको सहकार्यमा उक्त दौड प्रतियोगिता भएको हो ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने धावकले क्रमशः ३० हजार, १५ हजार र सात हजार प्राप्त गरेका छन् । उक्त प्रतियोगितामा खुल्लातर्फ ११ जना र आन्तरिक तर्फ १७ जना गरि २८ जना धावक सहभागी भएका थिए ।

आन्तरिकतर्फको दौडमा बन्दिपुर–१ निवासी चन्द्रकुमार सुनार प्रथम र वडा नं २ निवासी रविन गुरुङ द्वितीय र बन्दीपुर–१ निवासी सागर आले तृतीय हुनुभयो । उहाँहरुले क्रमशः उक्त दूरी ४४ मिनेट ५१ सेकेण्ड, ४६ मिनेट ३७ सेकेण्ड र ४८ मिनेट ४१ सेकेण्डमा पूरा गर्नुभएको थियो । आन्तरिकतर्फ प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने धावकले क्रमशः १५ हजार, आठ हजार र पाँच हजार प्राप्त गरे ।

बिजेताहरुलाई गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल र गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले पुरस्कार वितरण गर्नुभएको थियो ।

सो अवसरमा मन्त्री लम्सालले यस्ता खेलकुद प्रतियोगिताले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताउनुभयो । ’सरकारले अहिले भ्रमण वर्ष मनाउदँै छ र २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।’ मन्त्री लम्सालले भन्नुभयो ’नेपालमा आएका पर्यटक मध्ये ६० प्रतिशत पर्यटक गण्डकी प्रदेशमा ल्याउछौँ ।’उहाँले भन्नुभयो ’गण्डकी प्रदेश प्राकृतिक सौन्दर्यताले भरिपूर्ण ठाउँ हो ।’

गाउँपालिकाले सोही अवसरमा ७० वर्ष काटेका एकल पुरुषलाई सिरक समेत वितरण गरेको छ । गत वर्ष एकल महिलालाई सिरक वितरण गरेको गाउँपालिकाले यो पटक ७० वर्ष उमेर कटेका ६०० एकल पुरुषलाई सिरक वितरण गरेको हो ।

बन्दिपुरलाई पर्यटनका माध्यमबाट परिचित गराउन गाउँपालिकाले बिभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button