तपाईँ सुन्दै हुनुहुन्छः

विदेशको कमाई छाडेर संयुक्त कृषि पेशा गर्दै चितवनका तीन युवा (फोटोफिचर)

चितवन । बिदेशको कमाई छाडेर नेपाल फर्किनुभएका तीन जना युवाहरुले संयुक्त रुपमा कृषि पेसा गर्न थाल्नु भएको छ । कालिका नगरपालिका वडा नं. ६ प्रगति टोलका युवाहरुले संयुक्त रुपमा कृषि पेशा अंगाल्नु भएको हो । उहाँहरुले एक बिगाहा जमिनमा गोलभेडा खेती लगाउनु भएको छ भने त्यसका अतिरिक्त केरा खेती र मौरीपालनसमेत गर्दै आउनुभएको छ ।

स्थानीय ३० वर्षीय अमृत अमगाई, ३३ वर्षीय वासुदेव घिमिरे र ३४ वर्षीय कृष्ण अमगाईले संयुक्त रुपमा गोलभेडा खेती गर्नुभएको हो ।

आठ वर्ष कतारमा कुक काम गर्नुभएका अमृतको कमाई मासिक नेपाली ८४ हजार पाँच सय रुपैया थियो । विदेशी भूमिमा जति दुःख गरेपनि आत्मसन्तुष्टि नभएकोले साथीहरु मिलेर नेपालमै तरकारी खेती थालेको उहाँले बताउनुभयो ।

उहाँ अहिले आफ्नो अपुरो रहेको पढाईलाई समेत निरन्तरता दिइरहनु भएको छ । उहाँ बीरेन्द्र बहुमुखी क्याम्पसमा बी.ए. तेश्रो वर्षमा समेत अध्ययन गर्दै हुनुहुन्छ । तरकारीको अतिरिक्त उहाँले आठ बिगाहा जमिनमा केरा खेती गर्दै आइरहनुभएको छ भने ८० घार मौरी पनि पालेको उहाँले बताउनुभयो ।

अमृत अमगाई जस्तै विदेशी भूमि मलेसिया, कतार र साउदीमा ९ वर्ष बिताउनुभएका वासुदेव घिमिरेको कमाई पनि विदेशी भूमिमा नेपाली एक लाख पाँच हजार रुपँैया थियो ।

ड्राइभर पेशामा रहुनुभएका घिमिरे अर्काको जागिर भन्दा स्वदेशमा केही गर्न कृषि पेशा थालेको उहाँ बताउनुहुन्छ । विदेशमा गरेको कमाईले आर्थिक रुपमा सन्तुष्ट नै भएपनि आफ्नै माटोमा मिहेनत गर्न नेपाल फर्किएको उहाँको भनाई थियो । तरकारी खेतीका अतिरिक्त उहाँले भरतपुरको लंकुमा दुध डेरी समेत सञ्चालन गर्नुभएको छ । आफूले पालेको दुई वटा गाईको दुध र गाउँघरबाट किनेर उहाँले दैनिक रुपमा एक सय ५० लिटर भन्दा बढी दुध बिक्री गर्ने गर्नुभएको छ ।

जीवनको उर्वर समयको १६ वर्ष भारतमा सेक्युरिटी गार्डको काम गर्दै आउनु भएका कृष्ण अमगाईको मासिक तलब १६ हजार रुपैँया थियो । भारतीय जागिरले घरखर्च चलाउँदै आउनु भएका अमगाईले साथीहरुसँग संयुक्त रुपमा गरेको तरकारी खेतीको अतिरिक्त एक बिगाहा जमिनमा केरा खेती पनि गर्दै आउनुभएको छ । विदेशको जागिर भन्दा आफ्नै माटोमा गरेको मिहेनत र त्यसबाट हुने प्रतिफल मिठो हुने भएकोले कृषि पेशा थालेको उहाँले सुनाउनुभयो ।

विदेशबाट फर्किएर कृषि पेशा अंगाल्नुभएका उहाँहरुले हालसम्म गोलभेडा खेतीको लागि पाँच लाख रुपैया खर्च गरिसक्नु भएको छ । हाल गोलभेडाको उत्पादन भई बिक्री सुरु भएको र आम्दानी समेत सन्तोषजनक भएको उहाँहरुले बताउनुभयो । गोलभेडाको अतिरिक्त सोही जमिनलाई उहाँहरुले खाली हुन दिनुभएको छैन् । उहाँहरुले गाजर, मुला, लौकालगायतका तरकारीहरु लगाएर पनि थप आम्दानी समेत गर्दै आउनुभएको छ ।

स्थानीय सफल केरा किसान पदम प्रसाद अमगाईले उहाँहरुलाई तरकारी खेतीको लागि प्रोत्साहन गर्नुभएको थियो । उहाँहरुले सो गोलभेडा चार महिनामा करिव २० लाख रुपैयाको बिक्री गर्ने बताउनुभएको छ । अन्य तरकारीहरु पनि करिव पाँच लाख रुपैयाको बिक्री गर्ने उहाँहरुको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button