तपाईँ सुन्दै हुनुहुन्छः

‘नेपाली भाषाको संरक्षणका लागि ‘विश्व सम्मेलन’ आवश्यक’

काठमाडौं । नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षणका लागि विश्वमा भएका नेपालीबीच ‘विश्व सम्मेलन’ गर्नुपर्ने बताइएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानले वरिष्ठ साहित्यकार एवं भारत सिक्कीमका पूर्वमुख्यमन्त्री पवन चामलिङ ‘किरण’ को स्वागतमा आयोजित भेटघाट कार्यक्रममा पूर्वमुख्यमन्त्री चामलिङले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षणका लागि ‘विश्व सम्मेलन’ आवश्यक रहेको बताउनुभएको हो ।

“सिक्किम सरकारले नेपाली भाषा, साहित्य, धर्म, संस्कृतिको विकासका लागि ठूलो काम गरेको छ”, उहाँले भन्नुभयो, “सिक्कीममा नेपाली भाषाबारे अध्ययन, अध्यापन गर्नुदेखि आदिकवि भानुभक्त आचार्यको प्रतिमा निर्माणसम्मको काम आफ्नो कार्यकालमा भएको छ ।” “हामी जहाँ बसेपनि हाम्रो पहिचान नेपाली हो”,चामलिङले भन्नुभयो । उहाँले लेखक, स्रष्टा र कविलाई सम्मान गर्नुपर्नेमा जोड दिदैं उहाँले भन्नुभयो, “सिक्कीममा राजनीति गरेपनि आफू नेपाली साहित्यकार र जनताको माझमा रहिरहने छु ।”

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले चामलिङ बहुआयमिक व्यक्तित्वको धनी भएको बताउँदै भारतमा बसेर पनि नेपाली भाषा, संस्कृतिको सम्मानका लागि उहाँले गरेको योगदानको उच्च कदर गर्नुपर्छ भन्नुभयो । “राजनीति र सीमानामा हामीलाई विभेद भए पनि भाषा, धर्म र संस्कृतिमा हामी एक छौँ”, उहाँले भन्नुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले सिक्कीममा जन्मेर पनि नेपाली भाषा, साहित्यको विकास र विस्तारमा चामलिङले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो ।

सिक्कीम प्रजातन्त्र काँग्रेसको संस्थापक सदस्यसमेत रहनुभएका चामलिङ सिक्कीममा पाँच कार्यकाल मुख्यमन्त्रीको जिम्मेवारी समाल्नुभएको थियो । सन् १९९९, २००४, २००९, २०१४ र २०१५ मा मुख्यमन्त्री बन्नुभएका उहाँ तीनपटक भारतीय विधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । चामलिङले सिक्कीममा लोकतान्त्रिक संस्कृति बसाल्न महत्वपूर्ण भूमिका खेलेको प्रतिष्ठानका सदस्य–सचिव प्रा जगतप्रसाद उपाध्यायले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button