तपाईँ सुन्दै हुनुहुन्छः

झापाको नयाँ पर्यटकीय गन्तव्य सहकाले झरना

भद्रपुर, झापा । झापाको अर्जुनधारा–२ मा रहेको ‘सहकाले झरना’ अहिलेसम्म पहिचान भएमध्येको एउटा नयाँ पर्यटकीय गन्तव्य हो । यो झरना ५० फिट अग्लो छ । बिर्तामोडबाट करिव २० किलोमिटर र अर्जुनधारा–जलेश्वार धामदेखि १४ किलोमिटर उत्तरमा इलामसँगको सीमामा रहेको सुन्दर पहाडी भूगोलमा सहकाले झरना छ ।

पर्यटकका लागि आकर्षण बन्ने भएको हुँदा अर्जुनधारा नगरपालिकाले सो क्षेत्रलाई नयाँ पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना बनाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पङ्कज भूर्तेल बताउनुभयो ।

उहाँले सहकाले झरना नजिकको साठिमुरे डाँडोमा श्रीकृष्णको ठूलो मन्दिर र होमस्टे लगायतका संरचना बनाउने नगरको योजना भएको बताउनुभयो ।

इलामको रोङ गाउँपालिका, माई नगरपालिका, सूर्योदय नगरपालिका र झापाको अर्जुनधारा नगरपालिकाको सीमासँग जोडिएको उक्त सहकाले क्षेत्र एकदम सुन्दर, रमणीय र आकर्षक गन्तव्य रहेको अर्जुनधारा नगरका प्रमुख हरिकुमार रानाले जानकारी दिनुभयो ।

यहाँको सहकाले बस्तीदेखि एक किलोमिटर दुरी टाढा पहाडको टुप्पाबाट छङ्छङ् झर्ने झरनालाई नै सहकाले झरना भनिएको हो ।

झरनाको पानी टाङटिङ खोलामा बगेर मिसिन्छल । झरनाको फेदमा झरेको पानीमा तिते, असला प्रजातिका माछा पाइने गरेको छ ।

सहकाले झरना नजिक पर्यटकका लागि अर्को आकर्षक ठाउँ भनेको त्यहाँ रहेको गुफा हो । नयाँ ठाउँ भएकाले हालसम्म त्यति धेरै बाह्य पर्यटक यहाँ पुगेका छैनन् । गुफाको विस्तृत अध्ययन हुन बाँकी नै छ ।

त्यस्तै गर्मीमा झनै चिसो हुने ठाउँ भएकाले त्यहाँ मस्याङ्को दाल, टमाटर, सुपारी, अदुवा लगायतका कृषि वस्तु उत्पादन हुने गरेको छ । अर्जुनधाराको विकट गाउँ मानिएको उक्त क्षेत्रमा विद्युत विस्तार भने भएको छैन् । सहकाले बजार विस्तार हुन सकेको छैन् । बजारमा अर्गानिक खानेकुरा पाइन्छ ।

झापाको पहाडको सबैभन्दा उचाईमा रहेको धार्मिकस्थलको रुपमा मेचीनगरको कृष्ण थुम्कीलाई चिनिन्थ्यो । सहकाले झरना कृष्ण थुम्कीभन्दा बढी उचाईमा रहेको पत्रकार दिपिन राईको दावी छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई पर्यटन प्रबर्धन वर्षका रुपमा मनाउने गरी झापाका युवाहरु हप्तै पिच्छे जिल्लाका विभिन्न नाम चलेका र सम्भावित पर्यटकीय स्थलको अध्ययन, अवलोकन र विकासमा टेवा पुर्याउने उद्देश्यले पैदल यात्रामा हिँड्ने गरेका छन् ।

नेपाल पत्रकार महासंघ झापाका सचिव सन्तोष आचार्य, नेकपा नेता डिल्लीराम घिमिरे, नेपाली कांग्रेसका नेता सुरेन्द्र बुढाथोकी, राप्रपाका नेता सुशिल आचार्यलगायतले पैदल भ्रमणको अभियान चलाएका छन् । मेचीनगरका युवाहरुले भ्रमण वर्षलाई सार्थक बनाउन बङ्गलादेश, भारतको टिस्टादेखि दार्जीलिङ, मेचीनगरबाट इलामको हाँसपोखरीसम्म पैदल यात्रा गरिसकेका छन् ।

मेचीनगरका महिलाहरुले धुलाबारीदेखि बुद्वशान्ति गाउँपालिकाको धारागोलासम्म पैदल यात्रा गरेका थिए । यी दुबै समूह मिलेर यही शनिबार कृष्ण थुम्कीदेखि झापाको होचो ठाउँ कचनकवल गाउँपालिकाको केचना स्तम्भसम्म पैदल यात्रा गर्ने तय भइसकेको पत्रकार सन्तोष आचार्यले बताउनुभयो ।

त्यस्तै, आगामी शनिबार मेचीनगरका यिनै युवाहरुले अर्जुनधारा नगरपालिकासँगको सहकार्यमा पूर्वकै प्रसिद्ध अर्जुनधारा जलेश्वरधामदेखि सहकाले झरनासम्म पैदल यात्राको योजना बनाएका छन् ।

पैदल यात्रामा उनीहरु भिजिट नेपालको लोगोसहित एकै प्रकारका टिसर्ट, टोपी, लौरो, जुत्ता लगायतका पोशाकले सजिएर हिड्ने छन् ।युवाहरुको यो अभियानले सहकाले क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा चिनाउन र आन्तरिक तथा बाह्य पर्यटकहरुको घुँईचो बढाउन मदत पुग्ने देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button