तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरको बेलडाँडीमा पनि भ्रमण वर्षको तामझाम

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडीमा पनि भ्रमण वर्षको तामझाम शुरु भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि बेलडाँडी गाउँपालिकाको आयोजनामा वृहत् कार्यक्रम गर्न लागिएको बेलडाँडी गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का वडाध्यक्ष अमर बहादुर खत्रीले बताउनुभयो ।

उहाँका अनुसार बेलडाँडी गाउँपालिका भित्र रहेका पर्यटकीय स्थलहरुको पहिचान गराउन यही माघ ४ गते शनिबारका दिन संघीय सरकारका वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री बिना मगर, भूमि व्यवस्था र सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालको विशेष उपस्थितिमा कार्यक्रम गरिने छ ।

उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मन्त्री तथा सांसदहरु, कञ्चनपुर जिल्लाका अन्य आठ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको पनि सहभागिता रहने प्रवक्ता खत्रीले जानकारी दिनुभयो ।

बेलडाँडीमा रहेका आरक्ष पीडित तथा सुकुम्बासीहरुको बस्ती, खेल मैदान चवन्नी, किसान मध्यवर्ती सामुदायिक वनको अवलोकन गरी कालिकिच ताल परिसरमा कार्यक्रम आयोजना गरिने कार्यतालिका रहेको उहाँको भनाई छ ।

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । त्यस्तै, सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै व्यापक सुरक्षा व्यवस्थाका लागि सबै सुरक्षा निकायलाई अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।

संघीय सरकार तथा प्रदेश सरकारका जनप्रतिनिधिहरुसँग बेलडाँडी गाउँपालिका भित्र रहेका आरक्षपीडित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको भूमि सम्बन्धी समस्या समाधान, सिमसार क्षेत्र व्यवस्थापन र समग्र बेलडाँडीका समस्या समाधानका लागि आग्रह गर्ने बेलडाँडी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष प्रेम राज खातीले जानकारी दिनुभयो ।

त्यस्तै, प्रवेशद्वारको उद्घाटन समेत गरिने बताइएको छ । पर्यटकीय क्षेत्र कालिकिच तालमा हुने कार्यक्रममा आम जनसमुदाय, समाजसेवी, बुद्धिजीवि, शिक्षाप्रेमी, व्यापारी तथा संघसंस्थाहरुलाई कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button