तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्जमा बृहत बिज्ञान तथा प्रविधि महोत्सव हुँदै

बाँके । बाँकेको नेपालगन्जमा आउने फागुन महिनामा बिज्ञान तथा प्रबिधिको बृहत प्रदर्शनी एवं महोत्सवको आयोजना हुने भएको छ ।

आयोजक संस्था ग्रान्ड साईन्स फेस्टिवलले शनिबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

‘राष्ट्र निर्माणका लागि बिज्ञान तथा प्रविधि’ भन्ने मुल नाराका साथ फागुन ८ देखि १० गतेसम्म नेपालगन्जको सडक डिभिजन कार्यालय परिसर, कारकादोमा उक्त महोत्सव हुने आयोजक समितिका अध्यक्ष आतंक बस्नेतले बताउनुभयो । महोत्सवमा बिज्ञान र प्रबिधिसङ्ग सम्बन्धित तीन सय स्टलहरु राखिने उहाँको भनाई रहेको छ ।

प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदुरपश्चिम् प्रदेशका ३१ जिल्लाका सामुदायिक तथा निजी बिद्यालयका कक्षा ८ देखि १२ सम्मका बिद्यार्थीहरुको बैज्ञानिक प्रतिभा प्रदर्शन, देशैभरिबाट युवा बैज्ञानिकहरुको प्रतिभा प्रदर्शनी, बिज्ञान र प्रविधिसङ्ग सम्बन्धित कविता, बादविबाद र नाटकको प्रतियोगितासमेत रहने अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

आयोजकका अनुसार बिद्यालयस्तरको बैज्ञानिक प्रतिभा प्रदर्शन प्रतियोगिताका प्रथम हुनेलाई एक लाख, द्वितीयलाई ७५ हजार, तृतीयलाई ५० हजार र सान्त्वना हुनेलाई २५ हजार प्रदान गरिने छ ।

त्यसैगरी युवा बैज्ञानिकहरुको खुला प्रतियोगितातर्फ प्रथमलाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार तथा कविता, वादविवाद र नाटक प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार नगद राशिको पुरस्कार बितरण गरिने आयोजकले जनाएको छ ।

करिव ४० लाख खर्च अनुमानित गरिएको उक्त महोत्सवमा जुरी मेम्बरका रुपमा नार्क र नास्टका सात जना बैज्ञानिकको निर्णायक मण्डल रहने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button