तपाईँ सुन्दै हुनुहुन्छः

महिलाहरुद्वारा सामूहिक रूपमा भैँसीपालन शुरु

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका बेलघारीका महिलाहरुले सामूहिक रूपमा व्यावसायिक रुपमा भैँसीपाल्न थाल्नु भएको छ ।

युवा तथा पुरुषले सामूहिकरूपमा व्यवसाय सञ्चालन गर्ने र महिलाले सहयोगी भएर मात्र काम गर्ने परम्परालाई तोड्दै महिलाहरु सामूहिक रूपमा व्यवसाय उन्मुख हुनु भएको हो ।

गत कात्तिकमा ‘बौरेनी भैँसी तथा कृषि फर्म’ दर्ता गरी ०७६ पुस १३ गतेदेखि सञ्चालनमा आएको फर्ममा १२ मुर्रा जातका भैँंसी रहेका फर्मकी अध्यक्ष लक्ष्मी थापाले बताउनुभयो ।

आफ्नो तरिकाले मात्रै तरकारी खेती नगरी समूहमार्फत गर्दा लगानी र काम गर्न पनि सहज हुने ठानेर सामुहिक रुपमा भैंसीपालन गर्ने र तरकारी खेती पनि अघि बढाउने अठोट गरेको अध्यक्ष थापाको भनाई छ ।

फर्मबाट हाल दैनिक ११५ लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ भने उत्पादित दूध प्रतिलिटर एक सयका दरले पुतलीबजार तथा फर्मबाटै खपत हुने गरेको फर्मकी सचिव गीता कार्कीले बताउनुभयो ।

भैँंसीपालनलाई आवश्यक पर्ने घाँसका लागि करीब नौ रोपनी जग्गा भाडामा लिएर आधुनिक घाँस लगाइएको छ । भौतिक संरचना निर्माण तथा भैँसी खरीदका लागि हालसम्म झण्डै ४७ लाख लगानी गरिएको र कम्पाउण्ड निर्माण तथा फर्मलाई व्यवस्थित गर्न लगानी अझै थप्ने तयारी भएको अध्यक्ष थापाले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button