तपाईँ सुन्दै हुनुहुन्छः

लाप्राकमा एनआरएन नमुना बस्तीको निमार्ण कार्य सम्पन्न

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सकृयतामा भूकम्प पिडितको लागि गोर्खाको लाप्राकमा निमार्णाधिन एनआरएन नमुना बस्तीको निमार्ण कार्य सम्पन्न भएको छ ।

गैरआवासीय नेपाली संघले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आफ्नो दायित्वमा रहेको सम्पूर्ण काम सकिएको जनाएको हो ।

गण्डकी प्रदेशको पोखराको रुपाकोट रिसोटमा सम्पन्न संघको ७१औं बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष कुमार पन्तले नेपालमा लगानी, काठमाडौँमा बन्दै गरेको सार्वजनिक शौचालय, लाप्राक परियोजना, नेपाल भ्रमण वर्ष २०२० लगायतका विषयमा जानकारी दिनुभयो । पन्तले संघको जिम्मेवारीमा रहेको लाप्राक परियोजनाको सम्पूर्ण काम सकिएको र हिउँ पग्लेपछि बाँकी रहेको काम गरेर हस्तान्तरण गर्ने जानकारी गराउनुभयो ।

गण्डकी प्रदेशको पोखराको रुपाकोट रिसोटमा माघ ४ र ५ गते २ दिनसम्म चलेको बैठकमा संस्थाको संस्थागत सुदृढिकरणका साथै आगामी कार्ययोजनाका बारेमा बृहत छलफल भएको संघका महासचिव डा. हेमराज शर्मा जानकारी दिनुभयो ।

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठकमा विभिन्न मुलुकबाट आएका संघका आइसीसी पदाधिकारी, आइसीसी सदस्यहरु, संरक्षक तथा सल्लाहकारहरु गरी ५८ जना सहभागी भएको संघले जनाएको छ ।

संघले काठमाडौँ महानगरपालिकाबीच नमुना सार्वजनिक शौचालय निर्माण गर्ने सम्झौता भए अनुसार उक्त कार्य अघि बढाउन बैठकमा सहभागी सदस्यहरुबाट ४० लाख रुपैया सहयोग संकलन गरेको जनाएको छ ।

उक्त कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङलगायतका प्रदेश सरकारका महत्वपूर्ण निकायका प्रतिनिधीहरु र संघका पदाधिकारीको उपस्थिती रहेको गैह्र आवासीय नेपाली संघले जनाएको छ ।

बैठकबाट भएका महत्वपूर्ण निर्णयहरु  
१) नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन संघले सक्रियातापुर्वक बिभिन्न कार्यक्रमको सुरुवात गरिसकेको छ । यसलाई अझै घनिभूत बनाउन संघका राष्ट्रिय र अन्तराष्ट्रिय समन्वय परिषद्को वार्षिक कार्यक्रमको रणनीतिक योजनासहित एकमुष्ट विवरण आगामी एक महिनाभित्र सार्वजनिक गर्ने ।

२) बैठकमा बृहत छलफल पश्चात २०१९/२०२१ कार्यकालका लागि विस्तृत कार्ययोजना तयार पारिएको र संघका सबै विभागहरुको कार्ययोजनाको विवरणको पुस्तिका एक महिनाभित्र प्रकाशन गर्ने ।

३) एनआरएन विश्व सम्मेलनलाई प्रभावकारी बनाउनका लागि संघको अन्तर्रािष्ट्रय महाधिवेशन नभएको वर्ष, विज्ञ सम्मेलनको साथमा आयोजना गर्ने ।

४) नेपाल सरकारको साझेदारीमा अक्टोवर २०२० मा दोश्रो एनआरएन विश्व विज्ञ सम्मेलन आयोजना गर्ने । सम्मेलनलाई परिणाममुखी बनाउन नेपाल सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधिहरु र संघबीच एक संयुक्त समिति निर्माण गर्ने ।

५) बैठकमा परोपकारी एवं मानव कल्याणकारी कार्यका लागि स्थायी प्रकृतिको श्रोत परिचालन गर्नका लागि स्थापना गर्न लागिएको NRNA Foundation को अवधारणापत्रमा बृहत छलफल गरिएको छ । उक्त फाउण्डेसन स्थापना गर्न केही वैधानिक तथा कानूनी कठिनाई समेत पहिचान गरिएकोले यसको समाधान लागि नेपाल सरकारको सम्बन्धित निकायसँग परामर्श तथा संवाद गर्ने । साथै अक्टोवर २०२० भित्र NRNA Foundation  दर्ता प्रक्रिया समेत अगाडि बढाउने ।

६) संघको सदस्यता वितरण र व्यवस्थापन, अन्तर्रा्ष्ट्रिय र राष्ट्रिय समन्वय परिषद्का निर्वाचनलगायतका गतिविधीहरुलाई अत्याधुनिक डिजिटल प्रविधिमैत्री बनाउनका लागि प्रस्ताव गरिएको ‘Smart NRNA परियोजना’ ६ महिनाभित्र सम्पन्न गर्ने ।

७) Smart NRNA परियोजना र NRNA Foundation स्थापनाका लागि विधानमा संशोधन गर्न आवश्यक विषयहरु १ महिनाभित्र पहिचान गरी संघको विशेष महाधिवेशनको मिति समेत तय गर्ने ।

८) बैठकमा संघको आर्थिक अवस्था, संघको वित्तिय प्रतिवेदन र तेश्रो पक्षबाट गराइएको डीडीए र आन्तरिक लेखा परिक्षणको प्रारम्भिक प्रतिवेदनमाथि बृहत छलफल गरी आवश्यक सबै प्रक्रिया पूरा गरी उक्त प्रतिवेदन यथाशक्य छिटो सार्वजनिक गर्ने ।

संघको वित्तिय विवरणहरु हरेक ३ महिनामा सार्वजनिक गर्ने प्रतिवद्धता अनुसार पछिल्लो ३ महिनाको विवरण एक साताभित्र संघको आधिकारिक वेवसाइटमार्फत सार्वजनिक गर्ने । राष्ट्रिय समन्वय परिषद्हरुलाई पनि ३–३ महिनामा आर्थिक वित्तिय विवरणहरु सार्वजनिक गर्न बैठकमार्फत निर्देशन दिइएको छ ।

९) बैठकले काठमाडौं महानगरपालिकासँग समन्वय गरी नमूना सार्वजनिक शौचालय निर्माणको काम अघि बढाउने औपचारिक निर्णय गरेको छ । उक्त योजनाका लागि बैठकमा सहभागीहरुबाट ४० लाख रुपैया को सहयोग संकलन भएको छ । बैठकले छात्रा शौचालयको समस्या भएका विकट तथा ग्रामिण क्षेत्रका विद्यालयसँग सहकार्य गरी शौचालय निर्माणको काम अघि बढाउने निर्णय गरेको छ ।

१०) बैठकले वैदेशिक रोजगारीका समस्या, समाधान र सम्भावनाको पहिचान गरी ६ महिनाभित्र एक श्वेतपत्र तयार गर्न विज्ञहरुको कार्यदल गठन गर्ने निर्णण समेत गरेको छ । साथै वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको सीप र क्षमताको सदुपयोग गर्नका लागि उनीहरुको विवरण संकलनका लागि सरकारले अघि सारेको श्रम बैंक कार्यक्रममा सहकार्य गर्ने निर्णय गरिएको छ ।

११) गैरआवसीय नेपाली संघद्वारा प्रस्तावित र नेपाल सरकारले पनि घोषणा गरिसकेको तर कार्यान्वयनमा नआएको वैदेशिक सामाजिक सुरक्षा कोषको यथाशीघ्र कार्यान्वयन गर्न, तथा महिला कामदारहरुको समस्या समाधान लगायतका विषयमा नेपाल सरकारका सम्बन्धित निकायसँग पहल गर्ने निर्णय गरिएको छ ।

१२) संसदमा विचाराधीन नागरिकता ऐन संसदको यसै हिँउदे अधिवेशनबाट पारित गरी संविधानमा व्यवस्था गरिए अनुरुप गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्न यो बैठक नेपाल सरकारको ध्यानाकर्षण गराउँने । यस्तै लगानी, सम्पत्ति र गैरआवासीय नेपालीको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसँग जोडिएको गैरआवासीय नेपाली सम्बन्धी ऐनको पुनर्लेखन गर्न र त्यसमा संघले पेश गरेका सुझावहरु समेत समेट्न बैठक मार्फत नेपाल सरकार समक्ष संघले विशेष अनुरोध गरेको छ ।

१३) संघको संरचना प्रयोग भई प्रवर्द्धन भई आएका व्यवसायिक कम्पनीहरुको नाफाको निश्चित प्रतिशत संघको कोषमा जम्मा गर्नका लागि सम्बन्धित सबैलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

१४) बैठकले अष्ट्रेलियामा लागेको डढेलोको कारण हुन गएको जनधनको क्षतिप्रति गहिरो दुखः व्यक्त गर्दै मृत आत्माको शान्तिका लागि यो संघ कामना गर्दछ । साथै उद्दार कार्यमा सक्रिय सहभागिता जनाउने राष्ट्रिय समन्वय परिषद् अष्ट्रेलियालाई विशेष धन्यवाद व्यक्त गरेको गैर आवसीय नेपाली संघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button