तपाईँ सुन्दै हुनुहुन्छः

तान बुन्ने सीपले उद्यमी बनायो पुलामीलाई

भद्रपुर-झापाको दमक–१ घर भएकी ढाका कपडा व्यवसायी नीरु पुलामीलाई आफूले उत्पादन गरेको कपडाको माग निरन्तर बढ्दै गएपछि बजार धान्न मुस्किल हुँदै गएको छ । नानीहरु स्कूल र जागिरे पति काममा गएपछि घर रुङेर समय बिताउनुभन्दा ढाकाको तान बुन्ने सीप सिकेर २० वर्षअघि स्वरोजगारमा लाग्नुभएकी उहाँ अहिले सयौँलाई रोजगारी दिने उद्यमीको पहिचान बनाउन सफल हुनुभएको छ ।

दमक–१ मा उहाँले सञ्चालन गरेको प्रवीण ढाका उद्योगमा ७० भन्दा बढी कपडा बुन्ने हाते मेसिन (तान) छन् । उहाँको वार्षिक मुनाफा नै रु २० लाखभन्दा बढी छ । दमक नगरपालिकाका महिला सदस्यले हरियो रङको ढाकाको साडीलाई औपचारिक पोशाक बनाएका छन् ।

एकै रङको पहिरन लगाएर नगरपालिकाको कार्यक्रम र बैठकमा पुग्दा महिला जनप्रतिनिधिलाई असाध्यै सुहाएको छ । यी सबै पोशाक पुलामीको ढाका उद्योगका उत्पादन हुन् । उनीहरुले जस्तै बुद्धशान्ति र कमल गाउँपालिका, मेचीनगर र कनकाई नगरपालिकाका महिलाले विवाह, व्रतबन्ध, भोजभतेरलगायतमा कार्यक्रममा जाँदा ढाकाकै कुर्था सलवार, साडी, बर्की, ब्याग, चप्पलसमेत प्रयोग गर्न थालेका छन् ।

स्थानीय तहका जनप्रतिनिधि, सहकारी संस्थाका महिला सदस्य, आमा र बचत समूहका महिलाले संस्थागत पहिचानका लागि एउटै रङको पहिरन लगाउने प्रचलन बढ्दै गएको छ । पुरुषहरुले लगाउने दौरा, सुरुवाल र टोपी ढाकाकै मन पराइने हुँदा बजार व्यापक बन्दै गएको छ ।

धेरैजसोले मौलिक पहिरनका रूपमा ढाकाका कपडा नै रोज्न थालेपछि पुलामीले सञ्चालन गरेको उद्योगमा माग बढेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button