तपाईँ सुन्दै हुनुहुन्छः

सौर्यबाट विद्युत् उत्पादन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्त सहितको टोलीले तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित सोलार फार्म प्रालिको अवलोकन गरेको छ । सोलारबाट विद्युत् उत्पादन गर्न स्थापना गरिएको कम्पनीको अवलोकन गर्दै सङ्घका अध्यक्ष पन्तले हालसम्मको प्रगतिबारे जानकारी लिनुभएको छ ।

सो अवसरमा प्रालिका अध्यक्ष मोहन गुरुङ, सञ्चालक एलएन पाण्डे र शङ्करजङ्ग गुरुङले उक्त परियोजनाबारे जानकारी गराउनुभएको थियो । करीब रु ५० करोडको लगानी रहेको सो योजनाबाट पाँच मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । आयोजनाबाट वार्षिक ९० लाख युनिट विद्युत् उत्पादन हुनेछ । उक्त विद्युत् नेपाल विद्युत् प्राधिकरणले खरिद गर्नेछ, जसका लागि प्राधिकरणसँग विद्युत् खरिद सम्झौता भइसकेको छ ।

फार्ममा प्यानल जडानको कामलाई अगाडि बढाइएको व्यवस्थापक हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी चैतसम्म सोलारबाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । सोलारबाट उत्पादित विद्युत्लाई ग्रिड प्रणालीबाट राष्ट्रिय प्रसारणमा जोडिनेछ । सोलार फार्ममा मुख्य लगानी गैरआवासीय नेपालीको रहेको छ भने २५ प्रतिशत स्थानीयवासीको शेयर छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा विसं २०७३ मा दर्ता भई ऊर्जा मन्त्रालयबाट विसं २०७५ मा अनुमति प्राप्त कम्पनीले भानुभक्त क्याम्पसको एक सय रोपनी जग्गा २५ वर्षका लागि वार्षिक रु १३ लाख भाडामा लिएको छ ।

सोलार विद्युत् खरिदका लागि नेपालमै पहिलोपटक प्राधिकरणसँग पिपिए सम्झौता भएको थियो । प्राधिकरणसँग प्रतियुनिट सात रुपैयाँ ३० पैसाका दरले २५ वर्षसम्म विद्युत् खरिद गर्ने सम्झौता भएको कम्पनीले जनाएको छ ।

योजना सम्झौता

म्याग्दे गाउँपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन हुने विभिन्न योजनामध्ये सत्तरी प्रतिशत योजना सम्झौता गरेको छ । चालु आव ०७६÷७७ मा सञ्चालन गरिने ६ सय योजनामध्ये चार सयभन्दा बढी योजनाको सम्झौता भइसकेको गाउँपालिकाले जनाएको छ ।

योजना सम्झौता र योजना निर्माणको कामलाई सँगसँगै अगाडि बढाइएको गाउँपालिकाका योजना शाखाप्रमुख श्रीराम खनालले जानकारी दिनुभयो । खनालका अनुसार आगामी माघ मसान्तभित्र सबै योजना सम्झौता सकिनेछ । “उपभोक्ता समितिसँग धमाधम योजनाको सम्झौता कार्य चलिरहेको छ,” उहाँले भन्नुभयो, “सम्झौता सँगसँगै निर्माण कार्यलाई पनि अगाडी बढाइसकिएको छ ।”

उहाँका अनुसार सम्झौता भएका योजनाहरु चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सबैभन्दा बढी म्याग्दे गाउँपालिका–५ को ९८ प्रतिशत योजना सम्झौता भइसकेको खनालले जानकारी दिनुभयो । सम्बन्धित वडाको सिफारिसबमोजिम गाउँपालिकाको कार्यालयमा आएर उपभोक्ता समितिले योजना सम्झौता गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

सम्झौता गर्न आउँदा आवश्यक पर्ने फारम सम्बन्धित वडा कार्यालयमा नै पठाइएको र उपभोक्ता समितिले सोही फारम भरेर योजना सम्झौता लागि आउने गरेका छन् । “उपभोक्ताको सहजताका लागि फारम वडा कार्यालयमा पठाएका छौँ”, उहाँले भन्नुभयो, “योजना सम्झौताका लागि के के कागजात चाहिन्छ भन्ने उपभोक्तालाई जानकारी हुन्छ ।”

त्यसैगरी योजनासम्पन्न भएपछि अन्तिम भुक्तानी माग गर्नका लागि पनि नमूना फारम वडा कार्यालयमा पठाइएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षका लागि सडक, खानेपानी, कृषिलगायत योजनालाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि नागिलाले जानकारी दिनुभयो । चालु आवमा प्रत्येक वडाका एक÷एक सडक कालोपत्र गरिनेछ । “यो वर्ष तीनदेखि पाँच किमी सडक कालोपत्र गर्ने लक्ष्य राखिएको छ”, उहाँले भन्नुभयो । प्रत्येक वडाका एक÷एक बाटोलाई रु ५० लाखदेखि रु एक करोडसम्म विनियोजन भएको छ । त्यस्तै खानेपानी योजनाका लागि रु एक करोड ६८ लाख विनियोजन भएको छ ।

आलु र सुन्तलामा अनुदान

गाउँपालिकालाई आलु र सुन्तलामा आत्मनिर्भर बनाउन कृषकलाई पचास प्रतिशत अनुदान दिने कार्यलाई गाउँपालिकाले यो वर्ष पनि निरन्तरता दिएको छ । आलु र सुन्तलाको बीउ खरिदमा पचास प्रतिशत अनुदान दिइएको योजना शाखाप्रमुख खनालले जानकारी दिनुभयो ।

गाउँपालिकामा गत वर्ष १७.५ मेट्रिक टन आलु उत्पादन भएको थियो । साँगे, रानीटारी, थर्पु, पयर, धयँरे, छाङपाटन, पीपलडिहीलगायत क्षेत्रमा सामूहिक आलु खेती भइरहेको छ ।

त्यस्तै गाउँपालिकाबाट वार्षिक रुपमा रु दुई करोडभन्दा बढीको सुन्तला उत्पादन भइरहेको छ । गाउँपालिकाले चिस्यान केन्द्र निर्माणका लागि प्रक्रिया अगाडि बढाइसकेको छ । कृषकले आफूले चाहेको बेला चिस्यान केन्द्रबाट बीउ ल्याएर खेती गर्न सकून् भनेर हाल पोखरामा बीउ राख्ने व्यवस्था मिलाइएको छ ।

सुविधासम्पन्न उद्यान निर्माणले लियो गति

व्यास नगरपालिका–५ पाटनमा निर्माण भइरहेको सुविधासम्पन्न उद्यानको कामले तीव्रता पाएको छ । सङ्घीय सरकारको आर्थिक वर्ष ०७६÷७७ को बजेटबाट पाटनमा सुविधासम्पन्न उद्यान निर्माण तीव्र गतिमा चलिरहेको छ । चालु आवभित्र सम्पन्न गर्ने लक्ष्यका साथ उद्यानमा बास्केटबल कोर्ट, मत्स्यकन्या सहितको पोखरी, सामुदायिक भवन, पार्किङ, अतिथि गृहभवन, फूलको बगैँचा, वनभोजस्थल निर्माण भइरहेको व्यास नगरपालिकाका प्रवक्ता एवं सोही वडाका अध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

शहरी विकास मन्त्रालयको उद्यान निर्माण कार्यक्रमअन्तर्गत उद्यानभित्र संरचना निर्माणका लागि धमाधम काम भइरहेको निर्माणको ठेक्का पाएको न्यू ड्रागन एन्ड जेभीका साइट इन्चार्ज विष्णुबहादुर खड्काले जानकारी दिनुभयो । रु तीन करोड ५३ लाखको ठेक्का न्यू ड्रागनले रु दुई करोड ७३ लाखमा सम्झौता गरेको थियो । भवन डिभिजन कार्यालय गोरखाले टेन्डर आह्वान गरेको यो आयोजनालाई भवन डिभिजन कार्यालय कास्कीले प्राविधिक सहयोग गरिरहेको छ । ३२ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको उद्यानमा खेलमैदानका साथै परासर आश्रममा शिवमन्दिरसमेत निर्माण गरिनेछ । हाल उद्यान निर्माणको काम ६० प्रतिशत सकिएको छ ।

व्यास र परासर ऋषिको जन्म एवं तपोभूमिमा निर्माण भइरहेको उद्यानलाई पर्यटक आकर्षणको केन्द्र बनाउने लक्ष्य राखिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । श्रेष्ठले भन्नुभयो, “पार्कले आन्तरिक पर्यटनलाई त प्रवद्र्धन गर्छ नै सँगसँगै धार्मिक पर्यटनलाई पनि टेवा पु¥याउँछ ।”

हिन्दू धर्म, परम्परा, सनातन धर्मसँग सम्बन्धित परासर र व्यास ऋषिको जन्मस्थल र तपोभूमि यस ठाउँ भएको हुनाले त्यसलाई प्रवद्र्धन गर्दै व्यवस्थित बनाउने योजनामा नगरपालिकाका रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार पार्क आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्दै आयआर्जनको माध्यमसमेत बन्नेछ ।

मादी र सेती नदीको सङ्गमस्थलमा निर्माण भइरहेको उद्यानले यस क्षेत्रको धार्मिक तथा पर्यटकीय गन्तव्यमा टेवा पुग्ने भएपछि स्थानीयवासी हर्षित छन् । व्यास नगरपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा मादीसेतीको सङ्गमस्थल वरिपरि ग्याबिन गर्ने, सोही स्थानमा स्नानगृहसमेत निर्माण गर्ने योजना छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button