तपाईँ सुन्दै हुनुहुन्छः

महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि नयाँ योजना ल्याइने

कञ्चनपुर । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले देशभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि मन्त्रालयले आउँदो नीति कार्यक्रममा नयाँ योजना ल्याइने बताउनु भएको छ ।

महाकाली अस्पताल व्यवस्थापन समितिले बुधबार बिहान आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले औषधी खरिद गर्दा सोही प्रकृतिकोे औषधी र उपकरणको मूल्यमा देखिएको भिन्नता प्रति ध्यानाकर्षण भएको बताउनु भयो ।

संघीय सरकारले खरिद गर्ने दररेट भन्दा दोब्बर बढी मूल्यमा प्रदेश सरकारले र तेब्बर मूल्यमा स्थानीय तहहरुले औषधी र उपकरण खरिद गरेको देखिएकोले संघीय सरकारले त्यसलाई नियन्त्रण गर्ने उहाँले बताउनु भयो ।

मन्त्री ढकालले पछिल्लो समयमा प्रत्येक व्यक्ति राज्य जस्तो र राज्य चाँही व्यक्तिले दिएको आदेश तामेली गर्ने संस्था जस्तो अवस्था देखिएकोले सरकारले त्यस्तो प्रवृत्तिलाई उल्ट्याई सुधार गर्ने दाबी गर्नुभयो ।

उहाँले समायोजनका क्रममा दुर्गममा जान नचाहने स्वास्थ्यकर्मीहरु अनिच्छाले नभई त्यहाँका निजी क्लिनिकमा फाइदा नदेखेर जान नचाहेको आरोप लगाउनु भएको छ । उहाँले कर्मचारीहरुमा देखिएको अस्वभाविकपनलाई सुधार गरिने बताउनु भयो । महाकाली अस्पतालले पछिल्लो समयमा गरिरहेको सुधारको प्रशंसा गर्दै मन्त्री ढकालले नागरिकलाई सहजै स्वास्थ्य सेवा उपलब्ध गराउने गरी काम गर्न निर्देशन समेत दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button