तपाईँ सुन्दै हुनुहुन्छः

गुणस्तरहीन सामग्री प्रयोग गरेको भन्दै गिदेरी खोलाको पुल निर्माणमा रोक

गाईघाट। उदयपुर जिल्लाको बेलका नगरपालिका–३ स्थित गिदेरी खोलामा निर्माण हुँदै गरेको पुलको खम्बा निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको भन्दै बेलका नगरपालिकाले तत्काल सो पुल निर्माणमा रोक लगाएको छ ।

बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले आफूले पुलको अनुगमन गर्ने क्रममा बीचको खम्बा निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको पाएपछि तत्काल रोक लगाइएको बताउनुभयो । पुलको नक्साअनुसारको नापको पनि खम्बा नभएको र सामान्य गुणस्तरहीन सामग्री प्रयोग भएको कारण निर्माण कम्पनी पप्पु सञ्जीवनी कन्ट्रक्सनलाई यस्तो कृतिम कार्य नगर्नको लागि नगरपालिकाले रोक लगाएको प्रमुख थापाले बताउनुभयो ।

दुई सय ७८ मिटरको लम्बाइको उक्त गिदेरी खोलाको पुल पप्पु सञ्जीवनी निर्माण कम्पनीले २०७० सालमा निर्माण शुरु गरेको २०७३ मा नै पुल निर्माण सम्पन्न गरिसक्नुपर्ने भए तापनि अहिलेसम्म २० प्रतिशत काम पनि सम्पन्न नभएको नगरपालिकाले जनाएको छ ।

तत्कालीन समयमा उक्त पुल निर्माणका लागि सडक डिभिजन कार्यालय सिरहा लाहानले हेर्ने गरी पुल निर्माण कार्यको सम्झौता भई निर्माण कार्य शुरु भएको थियो । करीब रु १३ करोड ४७ लाख सात हजारको बजेटमा निर्माण भइरहेको उक्त पुल समयमा निर्माण हुन नसकेको र खम्बा निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेका कारण सम्बन्धित पुल निर्माण कम्पनी र प्राविधिकलाई समेत यस्तो कार्य बन्द गर्न निर्देशन दिएर तत्काल बन्द गर्न नगरपालिकाले जानकारी गराएको हो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button