तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशसभाका सेवा सुविधा सामाजिक काममा

पोखरा। गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले प्रदेशसभा सदस्य भएबापत प्राप्त गरेका सम्पूर्ण सेवा सुविधा सामाजिक काममा खर्चिनुभएको छ ।

उहाँले आज पोखरामा पत्रकार सम्मलेन गरी निर्वाचनका समयमा आफूले निर्वाचित भएपछि प्राप्त गर्ने सेवा सुविधा सामाजिक कार्यमा लगाउने प्रतिबद्धता व्यक्त गरेअनुरुप यस वर्ष पनि विभिन्न सामाजिक कार्यमा सेवा सुविधाबापतको रकम खर्च गरेको जानकारी दिनुभयो ।

२०७५ फागुन १ गतेदेखि २०७६ पुस मसान्तसम्म प्रदेशसभाका बैठक भत्ता, मासिक पारिश्रमिक एवं अन्य सुविधाबापत प्रदेशसभाबाट छ लाख १० हजार ६२९ बैंक खातामा जम्मा भएको जानकारी दिँदै उहाँले उक्त रकममा केही थप गरी रु नौ लाख तीन हजार ७०१ सामाजिक काममा खर्च गरेको जानकारी दिनुभयो ।

विभिन्न सामुदायिक भवन निर्माण, खेलकूद, सडकलगायतका पूर्वाधार विकास एवं सामाजिक क्षेत्रमा क्रियाशील सङ्घ संस्थालाई उक्त रकम प्रदान गरेको उहाँले बताउनुभयो । गण्डकी प्रदेशमा जिम्मेवार प्रतिपक्षका रुपमा सरकारका राम्रा कामलाई सहयोग गर्दै आए पनि आफूहरूप्रति सरकारले निषेधको राजनीति गरेको उहाँको आरोप छ ।

प्रतिपक्षी दलका सांसदले राखेका जायज माग सरकारले सुन्न नचाहने गरेको बताउँदै प्रदेशसभा सदस्य थापाले आफू निर्वाचित भएको क्षेत्रमा सरकारले विकास निर्माणमा विभेद गरेको उल्लेख गर्नुभयो । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमतर्फको बजेटलाई आफूले निकै सुझबुझ तथा समानुपातिक ढङ्गबाट सबैको उपस्थितिमा विनियोजन गरेको पनि उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button