तपाईँ सुन्दै हुनुहुन्छः

सरकार र सहकारी सहकार्य गरी अघि बढ्छ : मन्त्री अर्याल

तनहुँ । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सरकार र सहकारी सहकार्य गरी अघि बढ्ने बताउनु भएको छ ।

तनहुँको दमौलीमा आज व्यास बचत तथा ऋण सहकारी संस्थाको १३औं स्थापना दिवस एवं नवनिर्मित भवनको उद्घाटन समारोहमा उहाँले सरकार र सहकारी सहकार्य गरी अघि बढ्ने बताउनुभएको हो ।

’सहकारीमा सुशासन र गुणस्तर हुनुपर्छ ।’ मन्त्री अर्यालले भन्नुभयो ’सरकार, सहकारी र निजि क्षेत्र समन्वय गरी देश विकास गर्ने हो ।’

उहाँले अहिले सरकारको नीति तथा लक्ष्य भनेको धेरै सहकारीलाई मर्ज गरेर थोरै तर गुणस्तरीय सहकारी बनाउने रहेको बताउनुभयो । ’सहकारी संस्था थोरै बनाउने हो ।’ मन्त्री अर्यालले भन्नुभयो ’ सहकारीको कार्यक्षेत्र विस्तार गर्ने हो । ’सहकारी जनस्तरमा पहुँच भएको सस्था हो ।’ उहाँले थप्नुभयो ।

अहिले सहकारीमा देशभर ६० प्रतिशत भन्दा बढी महिलाहरुको सहभागिता रहेको बताउदै अहिले नेपालमा ३३ हजार सात सय १२ वटा सहकारी संस्थाहरु रहेका छन्, उहाँले भन्नुभयो ’सहकारीमा अब युवासंगै समावेशी रुपमा शेयरधनि राख्नुपर्छ ।’

उहाँले सहकारी संस्थाहरुले अब उत्पादनमा जोड दिएर आर्थिक गतिविधि बढाउनुपर्ने बताउनुभयो । अब समृद्ध नेपाल र सुखी नेपाली अभियानलाई सार्थकता दिन तिन तह कै सरकार र आम जनसमुदाय एक हुनुपर्ने मन्त्री अर्यालको भनाई थियो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठले जिल्लाका व्यास, भानु, बन्दीपुर र शुक्लागण्डकीमा अव्यवस्थित बसोबास रहेको बताउनुभयो । वर्षौदेखि बसोबास गरेता पनि स्थानीयसँग लालपुर्जा भने नभएको बताउदै सांसद श्रेष्ठले लालपुर्जा समस्या छिटोभन्दा छिटो समाधान गरिदिन मन्त्री अर्याललाई आग्रह गर्नुभयो ।

त्यसैगरी प्रतिनिधिसभा सदस्य केदार सिग्देलले विकासका विनियोजित बजेट सही ठाउँमा खर्च हुनुपर्ने बताउनुभयो । साथै अहिलेको विकास र समृद्धि नारा पुरा गर्न उत्पादनमा जोड दिनुपर्ने सांसद सिग्देको भनाई थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button