तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं २ मा राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी पुरा

जनकपुरधाम । प्रदेश नंं २ मा चार वटा राष्ट्रियसभा सदस्य पदका लागि भोली हुन लागेको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।

जनकपुरको महेन्द्रनारायण निधि मिथिला सांस्कृति केन्द्रको प्राङ्गणमा हुने निर्वाचनका लागि मतदानस्थलको निर्माण गर्ने कार्य भएको छ । दुई वटा मतदानस्थल बनाउने काम भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेश सभाका सदस्य र स्थानीय तहका लागि मतदाताको लागि छुट्टा /छुट्टै मतदानस्थलको निर्माण गरिएको निर्वाचन अधिकृत डा. शम्भु साहले जानकारी दिनुभयो ।

प्रदेश नंं २ मा प्रदेश सभाका सदस्यको संख्या एक सय सात जना रहेको छ भने स्थानीय तहममा एक सय ३६ पालिकाहरुका प्रमुख उपप्रमुख गरेर कूल दुई सय ७२ जना मतदाता रहेका छन् । दुवै मतदान केन्द्रमा गरेर कूल तीन सय ७९ जना मतदाता रहेका छन् ।

बीहिबार बिहान १०ः०० बजेदेखि बेलुका ४ः०० बजेसम्म मतदान हुने कार्यक्रम रहेको छ ।

जनकपुरको महेन्द्रनारायण मिथिला सांस्कृति भवन क्षेत्रमा आजैदेखि नै सुरक्षा व्यवस्था कडा बनाइएको छ । मतदान सकेपछि सर्वदलीय सहमतिको आधारमा भोली बेलुकादेखि नै मतगणना गर्ने कार्यक्रम रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेश नंं २ को आठ जिल्लामा रहेका पालिकाका प्रमुख तथा उपप्रमुखहरु तथा जनकपुरधाम बाहिर रहनु भएका प्रदेश सभाका सदस्यहरु जनकपुर आउने क्रम जारी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button