तपाईँ सुन्दै हुनुहुन्छः

एक करोड मूल्य बराबरका माछा उत्पादन

शुक्लाफाँटा । शुक्लाफाँटा नगरपालिकामा एक वर्षको अवधिमै एक करोड मूल्य बराबरका माछा उत्पादन भएका छन् । कृत्रिम र प्राकृतिक पोखरीमा गरी झण्डै ५०० क्विण्टल माछा उत्पादन भएको हो ।

नगरपालिकाको पशु विकास शाखाले सङ्कलन गरेको तथ्याङ्कअनुसार १३१ पोखरी र पाँच प्राकृतिक तालमा माछापालन हुने गरेको छ ।

पाँच सय आठ कट्ठा क्षेत्रफलमा रहेका कृत्रिम पोखरीमा मात्रै ९० लाख ७० हजार मूल्य बराबरका माछा उत्पादन भएको पशु विकास शाखाका पशु विकास अधिकृत नारायणदत्त भट्टले बताउनुभयो ।

उत्पादन गरेका माछा स्थानीय बजारसँगै पोखरीबाटै व्यापारीले किनेर लैजाने गरेका छन् । माछा प्रतिकिलो ३०० देखि४००का दरले बिक्री हुने गरेको छ ।

नगरपालिकाका किसानले वर्षभरी माछा उत्पादन गरी बेच्दै आएका छन् । नगरपालिकामा सबैभन्दा बढी वडा नं ९ का ज्ञानेन्द्रबहादुर सिंहले आठ पोखरीमा वार्षिक रुपमा १५० क्विण्टल माछा उत्पादन गर्दै ३७ लाख ५० हजार मूल्य बराबरका माछा बिक्री गरेको बताउनु भयो ।

स्थानीय पल्टु चौधरीले साढे दुई बिघामा ह्याचारी तथा नर्सरी सञ्चालन गर्नुभएको छ । उहाँले ह्याचरी तथा नर्सरीमा उत्पादन भएका माछाका भुरा मात्रै बिक्री गरेर १० देखि १७ लाख आम्दानी गर्दै आउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button