तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकी राष्ट्रपति ट्रम्प पाकिस्तान आउने सम्भावना

इस्लामावाद । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पाकिस्तान भ्रमणमा आउने सम्भावना रहेको पाकिस्तानी अधिकारीले बताएका छन् ।

पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद क्युरेशीले बुधबार दिएको जानकारीअनुसार राष्ट्रपति ट्रम्प चाँडै नै पाकिस्तान भ्रमणमा आउने सम्भावना रहेको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खान र अमेरिकी राष्ट्रपति ट्रम्पका बीचमा डाभोसमा भएको भेटका क्रममा ट्रम्पको पाकिस्तान भ्रमणको कुरा भएको क्युरेशीले बताउनुभयो ।

विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन गएका बेला उहाँहरुबीच ‘साइडलाइन’ वार्ता भएको क्युरेशीले जानकारी दिनुभयो ।

दुई नेताबीच कुराकानी भएको एक घण्टापछि विदेशमन्त्री क्युरेशीले राष्ट्रपति ट्रम्प पाकिस्तान आउने सम्भावना रहेको बताउनु भएको हो ।

“आफूले चाँडै पाकिस्तानको भ्रमण गर्न सक्ने बारेमा राष्ट्रपति ट्रम्पले हामीलाई आश्वस्त पार्नुभएको छ”, क्युरेशीले भन्नुभयो ।

उहाँले आफ्नो वक्तव्यका क्रममा ट्रम्पको भ्रमणको मिति भने स्पष्ट नपार्नु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

पाकिस्तानी प्रधानमन्त्री खानले अमेरिकी राष्ट्रपति ट्रम्पसँग पाकिस्तान भ्रमणबाहेक अन्य पनि धेरै विषयमा कुराकानी गरेको क्युरेशीले जानकारी दिनुभयो ।

पाकिस्तानप्रति अमेरिकाले हेर्ने दृष्टिकोणमा सुधार गर्नेलगायत धेरै महत्वपूर्ण विषयमा पनि उहाँहरुले छलफल गर्नुभएको बताइएको छ ।

सुरक्षाको कारण देखाउँदै अमेरिकाले बेलाबेलामा आफ्ना नागरिकलाई पाकिस्तान भ्रमण नगर्न निर्देशन दिने गरेको बारेमा पनि प्रधानमन्त्री खानले राष्ट्रपति ट्रम्पको ध्यानाकर्षण गराउनु भएको थियो ।

ट्रम्प र खानका बीचमा व्यापार तथा लगानीका विषयमा पनि विषेश प्राथमिकताका साथ सहकार्य गर्ने सहमतिसमेत भएको पाकिस्तानी विदेशमन्त्री क्युरेशीले बताउनुभयो ।

उहाँहरुले दुई पक्षीय हित, आपसी सम्बन्ध, सहकार्य र साझा चासोका विविध विषयमा पनि कुराकानी गर्नुभएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button