तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान जारी, ८० प्रतिशतभन्दा बढी मतदान

काठमाडौँ । राष्ट्रिय सभामा रिक्त हुने १८ राष्ट्रिय सभा सदस्य पदका लागि ७ वटै प्रदेशमा अहिले मतदान भइरहेको र बिहान १० बजेदेखि शुरुभएको मतदान अपरान्ह ४ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । अहिले सम्म ८० प्रतिशतभन्दा बढी मतदान भइसकेको सम्बन्धित निर्वाचन अधिकृतहरुले जानकारी दिनुभएको छ ।

अपरान्ह ४ बजे मतदान सकिएपछि मतगणना शुरु हुने र आज अबेर सम्ममा सबै परिणाम सार्वजिन गर्ने व्यवस्थाका लागि निर्वाचन अधिकृतको कार्यालयहरुलाई निर्देशन दिइसकिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

७ वटै प्रदेशमा उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा मतदानस्थल तोकिएको छ जसअनुसार प्रदेश १ को बिराटनगर महानगरपालिकाको बीरेन्द्र सभागृह, प्रदेश २ को जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायणनिधि स्मृती भवन, वाग्मती प्रदेशको ललितपुर महानगरपालिका वडा नं ४ वडासमितिको भवन, गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्कीको परिसर, प्रदेश ५ को घोराही उपमहानगरपालिकाकोे कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशको.जिल्ला निर्वाचन कार्यालय सुर्खेतको परिसर भवन र सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्ति नारायण उच्च माध्यमिक विद्यालयमा मतदान स्थल रहेको आयोगले जनाएको छ ।

आजको निर्वाचनबाट प्रदेश १ मा महिला, दलित र अन्य समूहमा तीनजना, प्रदेश २ मा महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूहमा चारजना, बागमती र गण्डकी प्रदेशमा महिला र अन्य समूहमा दुईदुई जना, प्रदेश ५ मा महिला, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूहका तीनजना, कर्णाली र सुदूरपश्चिम प्रदेशमा महिला र अन्य समूह गरी दुईदुई जना गरी कुल १८ जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुनेछन् ।

प्रदेश सभाका पाँच सय ५० र स्थानीय तहका एक हजार पाँच सय छ गरी दुई हजार ५६ मतदाता रहनु भएको यस निर्वाचनमा ६ राजनीतिक दलका ४५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button