तपाईँ सुन्दै हुनुहुन्छः

पर्वत र बागलुङमा रैथाने बाली संरक्षणका लागि क्षेत्र निर्धारण

पर्वत । पर्वत र बागलुङमा रैथाने बाली संरक्षणका लागि क्षेत्र निर्धारण गरिएको छ । पछिल्लो समय किसानहरुले उन्नत जातका अन्नबाली लगाउने र प्रयोग पनि कम हुँदै गएको अवस्थामा कृषि ज्ञान केन्द्रले भने संरक्षण अभियान चलाएको छ ।

रैथाने बाली संरक्षणका लागि ज्ञान केन्द्रले पर्वत र बागलुङका लेकाली बस्ती छनौट गरेको हो । पर्वतका ६ वटा पालिका र बागलुङका ४ वटा पालिकामा पकेट क्षेत्र बनाउन क्षेत्र निर्धारण गरिएको हो ।

हावापानी र भूगोल अनुसार उपयुक्त हुने रैथाने बालीको खेती प्रवद्र्धन गर्न पकेट क्षेत्र निर्धारण गरिएको कृषि ज्ञान केन्द्र पर्वतका कृषि प्रसार अधिकृत रामकष्ण अर्यालले जानकारी दिनुभयो ।

रैथाने बालीको बीज वृद्धिसँगै विभिन्न परिकारका रूपमा उपभोग बढाउने उद्देश्यले रैथाने बालीको संरक्षण कार्यक्रम लागू भएको अर्यालले बताउनुभयो । परम्परागत रूपमा खेती भएका ठाउँ अनुसार पकेट क्षेत्र निर्धारण गरिएको अर्यालले बताउनुभयो ।

पर्वतमा मोदी गाउँपालिकाको चित्रे, भुक, क्याङ, खुईजेरी र लेस्पार, जलजला गाउँपालिकाको शालिजा र लेकफाँट, महाशिला गाउँपालिकाको फलामखानी, भोक्सीङ , विहादी गाउँपालिकाको गेप्ताङ, कुश्मा नगरपालिकाको आर्थर र फलेवास नगरपालिकाको कुर्घा र खुममा रैथाने बाली संरक्षण कार्यक्रम शुरु गरिने भएको छ ।

जिल्लामा हराउँदै गरेको कोदो, गहुँ, जौ, आलु , सिमी, बोडी, भागो, जुनेलो, ढकायो साग, फापर, कोदो, गहत, घैयाधान, लट्टेको पकेट क्षेत्र निर्धारण भएको छ ।

बागलुङको राङखानी, वरेङ, पाण्डवखानी, सिसाखानी, ढोरपाटन, लुकुरवन, तमानखोला र निसीखोलाको सबै वडा रैथाने बाली लगाउन छनौट गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

रैथाने बालीको संरक्षण तथा व्यवस्थापनका लागि चालु वर्ष २०७६/०७७ मा ५२ लाख ४० हजार रुपैयाँ बजेट आएको छ । लोपोन्मुख बालीको पहिचान, बीजवृद्धि, बीउ बैंक स्थापना, बजारीकरण र प्रदर्शनी गर्ने कार्यक्रम रहेको ज्ञान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button