तपाईँ सुन्दै हुनुहुन्छः

मध्य तराईमा झन जाडो बढदै गएपछि जनजीवन प्रभावित

बीरगंज । माघको दोश्रो साता बित्न लाग्दासमेत मध्य तराईमा झन जाडो बढदै गएपछि जनजीवत प्रभावित भएको छ ।

कठ्याड्ग्रीदो जाडो दिनभर लाग्ने बाक्लो हुस्सु, सितलहरसँगै चल्ने चिसो हावाको कारण दुई सातादेखि मध्य तराईको बारा, पर्सा, रौतहट लगायतका जिल्लाको जनजीवन नराम्रोसँग प्रभावित भएको हो ।

यस वर्षकै सबैभन्दा बढी जाडो अहिले महसुस भएको र अत्याधिक चिसोको कारण सर्वसाधारणहरु घरबाट बाहिर निस्कन नसकेको पर्सा पोखरीया नगरपालिकाका नगरप्रमुख दिप नारायण रौनियारले बताउनुभयो ।

विगत केही दिनदेखि विरगंजलगायत कलैया, सिमरा, गौर, जितपुर, पोखरीया, सिम्रौनगढ लगायतका स्थानहरुमा स्थानिय बासिन्दाहरु चोक चोकमा घुर तापेर बसिरहेका छन् ।

कठङिग्रदो जाडोको कारण स्कूले बालबालिका र महिला बढी प्रभावित भएका छन् ।

दिनभर बाक्लो हुस्सु सहित कुहिरो लागेपछि सिमरा विमान स्थलका उडानहरु समेत प्रभावित भएका छन् । भिजिविलिटी कम भएपछि सिमरा विमान स्थलबाट हुने नियमित उडान प्रभावित भएको विमान स्थल कार्यालयले जनाएको छ ।
शितलहरका कारण मध्य तराईका जिल्लाहरुको जनजीवन अस्तव्यस्त बन्न थालेको छ । जाडोको कारण चिसो बढेपछि तराईमा निमोनिया र रुखाखोकीका बिरामी बढिरहेका छन् ।

बीरगंजको नारायणी अस्पतालमा उपचारका लागि आउने अधिकांश बालबालिकामा चिसोको कारण निमोनिया देखिएको र वृद्धवृद्धामा रुघाखोकीको समस्या देखिएको अस्पतालका आकस्मिक सेवा कक्षका इन्चार्ज डा. मनोज गुप्ताले बताउनुभयो ।

माघको पहिलो सातालगातार रुपमा बर्षा हुँदा जाडो बढदै गएको र यसले सर्वसाधारणको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेको डा.गुप्ताले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button