तपाईँ सुन्दै हुनुहुन्छः

दमौलीमा भुस्याहा कुकुरको बन्ध्याकरण तथा रेबिज भ्याक्सिनेशन

तनहुँ । तनहुँको सदरमुकाम दमौलीस्थित व्यास नगरपालिका भित्रमा बेवारिसे अवस्थामा रहेका सामुदायिक(भुस्याहा) कुकुरको बन्ध्याकरण तथा रेविज भ्याक्सिनेशन लगाइएको छ ।

सामुदायिक कुकुरबाट बच्चा उत्पादन बृद्धि भएर फोहोरमैला र रेविज सर्न सक्ने भएकाले नियन्त्रणका लागि बन्ध्याकरण तथा रेविज भ्याक्सिनेशन थालिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ ।

व्यास नगरपालिकाको बजार क्षेत्रमा भुस्याहा कुकुर बढी भएकाले त्यसको व्यवस्थापनका लागि बन्ध्याकरण तथा रेविज भ्याक्सिनेशन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा.बालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार भुस्याहा कुकुरको संख्या न्यूनीकरण गर्न बन्ध्याकरण गरिएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँ र व्यास नगरपालिकाको संयुक्त आयोजनामा बिहीबार नगरक्षेत्र भित्रका भुस्याहा कुकुरहरुलाई नियन्त्रणमा लिई बन्ध्याकरण तथा खोप कार्यक्रम सञ्चालन गरिएको हो ।

नगरक्षेत्रमा भुस्याहा कुकुरहरुको विगविगी र तिनीहरुको टोकाईले विभिन्न मानिसहरु घाइते र रेबिजका सिकार बन्ने डरले गर्दा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

‘विशेषगरी कुकुरकै कारणबाट मानिसमा रेविज रोग सर्ने हुन्छ, यसको न्यूनीकरण तथा रेविज मानिसमा सर्न नदिन सचेतनाको रुपमा भ्याक्सिन लगाउने कार्यक्रम अगाडि बढाइएको हो,’ श्रेष्ठले भन्नुभयो, ‘दमौली बजार क्षेत्रका व्यास नगरपालिकाको वडा नं १,२,३ र ४ छाडा छाडिएका भुस्याहा कुकुरलाई बन्ध्याकरण तथा रेविज विरुद्धको खोप लगाएका छौं ।’

‘भुस्याहा कुकुरको जिम्मेवारी कसैले पनि नलिने, खान नपाएर बेवारिसे अवस्थामा मानिसलाई आक्रमण गर्न सक्ने भएकाले रेविज रोग मानिसमा सर्ने र सामुदायिक रुपमा कुकुरको गर्भधारण भएरयसको संख्या बृद्धि हुने प्रक्रिया रोक्न जरुरी हुन्छ, त्यसैले बन्ध्याकरण गरिएको हो, सामुदायिक कुकुरको हेरचाहको कमीले गर्दा मानिस तथा कुकुरमा रेविज रोग फैलिन नदिन भ्याक्सिनेशन दिने कार्यक्रम गरेका हौं,’ पशु चिकित्सक डा.श्रेष्ठले भन्नुभयो ।

पहिलो दिन बिहीबार २३ कुकुरको बन्ध्याकरण गरिएको थियो भने दोस्रो दिन शुक्रबार २५ कुकुरको गर ि४८ वटा कुकुरको बन्ध्याकरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ । विशेषगरी सामुदायिक कुकुरको बृद्धिमा न्यूनीकरण गर्न यो कदम चालिएको उहाँले बताउनुभयो । घाइते तथा बिरामी भएका भुस्याहा कुकुरको उपचार तथा जुकाको औषधी समेत खुवाइएको पशु चिकित्सक कल्पना खनालले बताउनुभयो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख चिकित्सक डा.बालकुमार श्रेष्ठ, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रयालय गण्डकी प्रदेशका डा.रिसव गुरुङ, डा.राजेश चौधरी, डा.शर्मिला कुमाल, डा.भरत रेग्मी, डा.विनय शाह लगायत पशु सेवा कर्मचारीहरुले सामुदायिक कुकुरको उपचार बन्ध्याकरण तथा भ्याक्सिनेशन गरिराख्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button