तपाईँ सुन्दै हुनुहुन्छः

मनाङ मर्स्याङ्दीको शीर्ष स्थान पुनरागमन

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको आठौं चरणमा पनि अपराजित यात्रालाई जारी राख्दै अंक तालिकाको शीर्ष स्थान पुनरागमन गरेको छ ।

दशरथ रंगशालामा शुक्रबार सरस्वती युथ क्लबलाई १–० ले हराउँदै मनाङले शीर्ष स्थानमा पुनरागमन गरेको हो । मनाङको यो चौथों जित हो ।

४ खेलमा बराबरी गरेको मनाङको १६ अंक पुगेको छ । खेलको ४६ औं मिनेटमा विमल रानाले गरेको गोल खेलको निर्णायक बन्यो । सरस्वतीले भने लगातार सातौं हार बेहोरेको छ ।

एक खेल कम खेलेको त्रिभुवन आर्मी पनि समान १६ अंकमा दोस्रो स्थानमा छ । ८ खेल खेलेको मछिन्द्र तेस्रो स्थानमा छ । तीनै टोलीको समान अंक भएपनि हेड टु हेडमा मनाङ अगाडि छ । आर्मीले शनिबार एनआरटिसँग खेल्दैछ ।

शहीद स्मारक ए डिभिजन लिगमा सन्तोष साहुखल सर्वाधिक गोलकर्ताको पहिलो स्थानमा उक्लिएका छन् । च्यासलबाट जारी लिग खेलिरहेका सन्तोषले यसअघि नै लिगमा १०० गोलको कीर्तिमान पनि बनाएका थिए ।

शुक्रबारको खेलमा ब्रिगेड ब्वाईजमाथि १–० को जीत निकाल्दै च्यासलाई दोस्रो जीत दिलाउँदा सन्तोषको गोल निर्णायक बन्न पुग्यो । सन्तोषले दोस्रो हाफको अन्तिम समयमा गोल गरेका थिए ।

सन्तोषले जारी लिगमा गोल संख्या ६ पुर्यायाएका छन् । दोस्रो जीत निकालेको च्यासल ९ अंकसहित तालिकाको आठौं स्थानमा छ । यस्तै पराजित भएको ब्रिगेड भने ८ अंकसति १० औं स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button