तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसको विवाद समाधान : १४औँ महाधिवेशन २०७७ फागुनमै

काठमाडौं । नेपाली काँग्रेसले एक महिनादेखि पार्टीमा देखिएको आन्तरिक विवाद समाधान गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको अग्रसरतामा शुक्रबार भएको शीर्ष नेताहरुको बैठकमा आन्तरिक विवाद समाधानका लागि सहमति भएको उपसभापति विमलेन्द्र निधिले राससलाई जानकारी दिनुभयो । सहमतिका लागि पार्टीका शीर्ष नेताबीच यसअघि विभिन्न चरणमा छलफल भए पनि टुङ्गो लाग्न सकेको थिएन ।

बैठक सभापति देउवा निवास बूढानीलकण्ठमा आज बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म भएको थियो । पार्टीको केन्द्रीय महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने, केन्द्रीय महाधिवेशन अघि विभिन्न तहका अधिवेशन तथा ती अधिवेशनका कार्यतालिका र कार्यविधिका सम्बन्धमा परिमार्जनसहित नयाँ प्रस्ताव केन्द्रीय समितिमा पेश गर्ने सहमति भएको उपसभापति निधिले बताउनुभयो ।

बैठकले पार्टीको क्रियाशील सदस्यता छानबिन समिति गठन गर्ने, छ महिनाभित्र महाधिवेशन गर्ने गरी नेपाल विद्यार्थी सङ्घको केन्द्रीय तदर्थ समिति गठन गर्नेलगायतका विषयमा सहमति गरेको छ । नेविसङ्घका निवर्तमान अध्यक्ष नैनसिंह महर नेतृत्वको केन्द्रीय समिति विघटन भएको दिनसम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीले नेविसङ्घको आगामी १२ औँ महाधिवेशनमा भाग लिन पाउने सहमति भएको छ । साथै तदर्थ समितिमा बस्ने पदाधिकारी र सदस्य नेविसङ्घको आगामी महाधिवेशनमा उम्मेदवार बन्न पाउने छैनन् ।

सहमति भएका यी सबै प्रस्ताव काँग्रेसको यही माघ १३ गते बस्ने केन्द्रीय समिति बैठकमा सर्वसम्मतिबाट पारित गर्ने सहमति भएको उपसभापति निधिले जानकारी दिनुभयो । काँग्रेसमा गत पुस ११ गते केन्द्रीय समिति बैठकले बहुमतका आधारमा पार्टीको महाधिवेशन, केन्द्रीय विभाग, भ्रातृ संस्थासम्बन्धी निर्णय गरेपछि पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विवाद देखिएको थियो ।

वरिष्ठ नेता पौडेल पक्षको अनुपस्थितिमा बसेको केन्द्रीय समितिको सो बैठकले पार्टीको केन्द्रीय विभाग २८ बाट बढाएर ४७ बनाउने, नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको पदावधि छ महिना थप गर्ने, काँग्रेसको सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्ष थप गर्ने, पार्टीको विभिन्न तहका अधिवेशन गर्ने कार्यतालिका र विधानका केही दफा निलम्बन गर्ने, केन्द्रीय महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्नेलगायतका निर्णय गरेको थियो ।

शुक्रबार सहमति भएका विषयलाई केन्द्रीय समितिबाट पारित गर्न काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक यही माघ १३ गते बोलाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button