तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री भट्टद्वारा निजामती आवासिय विद्यालय भवनको शिलान्यास

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले डोटीको राजपुर मटेलामा निजामती आवासीय माध्यामिक विद्यालय भवनको आज शिलान्यास गर्नुभएको छ ।

मूख्यमन्त्री कार्यालयकै दुई करोड ३९ लाख ५६ हजार तीन सय ३९ रुपैंया ९० पैंसाको लागत सहयोगमा रोयल कन्स्ट्रक्शन धनगढी कैलालीमार्फत बन्न लागेको छ कोठे भवनको मुख्यमन्त्री भट्टले शिलान्यास गर्नुभएको हो ।

भवनको शिलान्यासपछि बोल्दै मुख्यमन्त्री भट्टले नेपाल सरकारले झण्डै ४÷५ वर्ष पहिलेबाट पूर्वको धनकुटा र सुदूरपश्चिमको राजपुरमा निजामती आवासीय माध्यमिक बिद्यालय स्थापना गर्ने योजना भए पनि जग्गाको उपलब्धता, वातावरणीय प्रभाव मूल्याङ्न, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)लगाएतका कारणले ढिलो गरी भवन निर्माण प्रक्रिया अगाडी बढेको बताउनुभयो ।

निजामती कर्मचारीहरुका बालबालिका पठनपाठनका लागि उक्त बिद्यालय स्थापना गरी सञ्चालनमा ल्याईए पनि आम सर्वसाधारण नागरिकका बालबालिकाका लागि पनि यो विद्यालयमा पठनपाठन हुने मुख्यमन्त्री भट्टले बताउनुभयो ।

ठेक्का भएर अग्रिम रकम लिएर काम पूरा नहुने गलत प्रवृत्ति समस्याका रुपमा रहेकाले यसको अन्त्य गर्दै सम्झौता बमोजिम तोकिएको अवधीभित्र काम सम्पन्न गर्न ठेक्का सम्झौता गर्ने कम्पनीलाई भट्टले निर्देशन दिनुभयो ।

कामका लागि पैंसाको कमी नहुने भन्दै समयमै कार्य सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सरकारले पुरस्कृत गर्ने योजना अनुरुप अगाडी बढिरहेको पनि उहाँले बताउनुभयो ।

सम्झौता बमोजिम निर्धारित समयमा निर्माण कार्य सक्ने गरी काम अगाडी बढाईएको रोयल कस्न्ट्रक्शनका प्रतिनिधी नरेन्द्र बहादुर शाहले प्रतिवद्धता जनाउनुभएको छ ।

झण्डै एक सय रोपनी जमिनमा बिद्यालयको भवन निर्माण, खेलमैदान, विद्यार्थी र शिक्षकको आवास भवन, शौचालय लगाएतका भौतिक संरचना निर्माणको लागि ७५ देखि ८० करोडसम्मको बृहत योजना रहेको मूख्यमन्त्रीले जानकारी दिनुभयो ।

यस विद्यालयको शुरुवातमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय मातहतमा क्षेत्रीय प्रशासन कार्यालयबाट सञ्चालन भएकोमा हाल मूख्यमन्त्री मातहत सञ्चालन भईरहेको छ ।

अहिले उक्त बिद्यालय स्वास्थ्य निर्देशनालय राजपुरको पूरानो भवनमा सञ्चालन भईरहेको छ ।

त्यस्तै दिपायलबाट राजधानी सरेपछि यहाँको चर्काे गुनासोका रुपमा राजपुरमा रहेका निर्देशनालयहरु र अन्य सरकारी कार्यालय खाली भएको विषयमा केवल भ्रम सिर्जना गरिएको उहाँले बताउनुभयो ।

हिजोका क्षेत्रीय निर्देशनालयहरु अनुगमनकारी भूमिकामा रहेकोमा हालका प्रदेश निर्देशनालयहरु प्रदेशस्तरीय योजना बनाउने कार्यकारी अधिकार सम्पन्न रहेकोले अनावश्यक सिर्जना गरिएका भ्रममा नपर्न आग्रह गर्नुभयो ।

त्यस्तै सिलगढी नजिकै पुन्नामा रहेको ग्रामिण विकास प्रशिक्षण केन्द्रलाई प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान स्थापना गरिने र सोका लागि पनि झण्डै ५÷७ करोडको भवन निर्माणका लागि टेन्डर प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभयो ।

तसर्थ विकासका लागि सबैले साथ दिनुपर्नेमा मुख्यमन्त्री भट्टले जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button